सुनसरी/ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले ओमकार परिवार र सनातन धर्मावलम्बीहरुको आस्था र विश्वास माथि प्रहार गरेको भन्दै राप्रपा नेपाल आबद्ध जनवर्गीय संगठनहरूले विहिबार काठमाडौँमा पुत्ला दहन गरेका छन् । 

९४ प्रतिशत ओमकार परिवार र सनातन धर्मावलम्बीहरूको आस्था र विश्वासमाथि मन्त्री किरातीले प्रहार र अपमान गरेको भन्दै उनीहरूले पुत्ला दहन गरेका हुन् ।

मन्त्री किरातीले आपत्तिजनक, अमर्यादित र गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको भन्दै उनीहरूले मन्त्री किरातीले तत्काल राजीनामा दिनुपर्ने मागसमेत गरेका छन् ।

राजीनामा नदिएमा प्रधानमन्त्रीले तुरुन्तै बर्खास्त गर्नु पर्ने उनीहरूको भनाइ छ । संस्कृति मन्त्री किरातीले क्रिश्चियन धर्म नमान्नेहरू देशद्रोही र संविधान विरोधी भएको त्यस्तालाई जेलमा कोच्नु पर्ने विवादास्पद अभिव्यक्ति दिएका थिए ।

‘पार्टीका जनवर्गीय संगठनहरूले साङ्केतिक रूपमा विरोध प्रदर्शन गरेका छन् ।

मन्त्री किरातीले तत्काल राजीनामा नदिए यो विषय डरलाग्दो र विकराल हुनसक्ने चेतावनी दिएको छौं,’ राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले भने ।

उनले मन्त्री किरातीले राजीनामा नदिए आन्दोलनले थप चर्को रूप लिनेसमेत बताएका छ्न् । काठमाडौँको चावहिलमा भएको प्रदर्शनमा प्रदर्शनकारीहरूले मन्त्री किरातीको विरोधमा चर्का नाराबाजीसमेत गरेका थिए ।