मोरङ/  मोरङ कारागार विराटनगरका कैदीको कैद भुक्तान सकिने दिन नै मृत्यु भएपछि आफन्त आक्रोशित भएका छन्। लेनदेन ठगी मुद्दाका विराटनगर– १० निवासी ४८ वर्षीय चण्डेश्वर सहनीको सोमबार बिहान ६ः४५ बजे कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

पेट र श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। मोरङ कारागारका निमित्त जेलर कृष्णहरि न्यौपानेका अनुसार उनको उपचार क्रममा मृत्यु भएको हो । 

सहनीको कैद भुक्तान सोमबार नै सकिने दिन रहेको थियो। घर फर्कने दिन उनको मृत्यु हुनुलाई आफन्तले शंकास्पद मान्दै कोशी अस्पताल परिसरमा भेला भएर विरोध जनाएका छन् ।

सहनी २०७९ माघ १७ गतेदेखि कारागारमा कैद भुक्तान गर्दै आएका थिए। लेनदेन मुद्दामा उनलाई मोरङ अदालतले २०७८ मंसिर २० गते १० महिना २२ दिन कैद सजायको फैसला सुनाएको थियो ।

उनी २०७९ माघ १७ गते पक्राउ गरेर अदालतमा उपस्थित गराएपछि कारागार चलान गरिएको थियो। मोरङ कारागारमा सोमबारसम्म पुरुष ९४८, महिला ८९ र नाबालक ७ जना गरी जम्मा १ हजार ४४ जना कैदीबन्दी छन् ।