झापा/ उपचारका लागि ल्याइएको बिरामीको मृत्यु भए पछि झापाको बिर्तामोड मनमोहन अस्पतालमा तोडफोड भएको छ ।
अस्पतालको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै मृतक परिवार र आफन्तले अस्पताल घेराउ गर्दै तोडफोड गर्न खोजेपछि तनाव भएको थियो ।
घुँडामुनि सुन्निएको समस्या लिएर बिर्तामोड ९ की ३५ वर्षीया नर्वदा बाँसकोटालाई सोमबार बिहान मनमोहन अस्पतालमा उपचार गर्न लगिएको थियो ।
उपचारमा भएको लापरवाहीले उनको मृत्यु भएको भन्दै आफन्तहरु क्षतिपूर्ति र स्वास्थ्यकर्मीलाई कारबाहीसहित प्रदर्शनमा उत्रेका छन् । उपचारका क्रममा सोमबार विहान ल्याइएकी महिलाको साँझ मृत्यु भएको अस्पताल व्यवस्थापनले जनाएको छ ।
मृतकका छोराछोरीको पालनपोषण, शिक्षादिक्षाका लागि क्षतिपूर्ति र लापरवाही गर्ने स्वास्थ्यकर्मीलाई कारबाही गर्नुपर्ने आफुहरुको माग रहेको मृतकका भाइ दिनेश बाँस्कोटाले बताए ।
इमरजेन्सीमा भर्ना भएको बिरामीको दिनभर राख्दा समेत कुनै पनि रिपोर्ट नदिएको र उपचार नगरेको आरोप आफन्तले लगाएका छन् । रिपोर्ट नदिनु र उपचार नगर्नु लापरवाही हो, मृतकका भाइ बाँस्कोटाले भने । घटनाका विषयमा छलफल भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।