धनकुटा/ किरात राई समुदायमा हुर्किएर राष्ट्रसेवक निजामती कर्मचारीको अधिकृत तहमा पुगी जनताको सेवामा सक्रिय भूमिका निर्वाह गरिरहेका एक अधिकृतसहित चार कर्मचारीलाई सम्मान गरिएको छ । 

धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राईसहित चार कर्मचारीलाई किरात राईहरूको महान् चाड साकेला उँधौलीको अवसर पारेर किरात राई यायोक्खाले राई समुदायका कर्मचारीलाई सम्मान गरेको हो ।

कार्यक्रममा धनकुटा नगरपालिकाका नगर प्रमुख चिन्तन तामाङ र किरात राई यायोक्खाका अध्यक्ष उद्धवमणी राईलगायतले आफ्नो पहिरन फेटा लगाई प्रशंसापत्र प्रदान गरी उहाँहरूलाई सम्मानित गरेको आयोजक संस्थाले जनाएको छ । 

सम्मानित हुने अधिकृत तहका कर्मचारीमा धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राई, प्रदेश लेखा इकाई प्रमुख निशान राई, धनकुटा अस्पतालका डाक्टर मणिकला राई र डाक्टर समीर राई रहेका छन्  । 

धनकुटा नगरपालिकाका नगर प्रमुख तामाङलाई समेत फेटा लगाइ आयोजक संस्थाले सम्मान गरेको किरात राई यायोक्खाका अध्यक्ष राईले जानकारी दिए ।

मातृसंस्थाले सम्झिएर सम्मान गरेकोमा धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राईले खुसी व्यक्त गरे ।