धरान । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षक कर्मचारी तथा विद्यार्थीसँगको सम्झौता कार्यान्वयन नगरेको भन्दै धरानका प्रमुख राजनैतिक दलहरुले आपती जनाएका छन् । राजनैतिक दलहरु समेतको रोहबरमा प्रतिष्ठानका शिक्षक कर्मचारीहरुको बढुवा लगायतका मागहरुमा सहमती भएको तर कार्यान्वयन गरेको भन्दै दलहरुले प्रेस विज्ञप्ति जारी गर्दै तत्काल सम्झौता कार्यान्वयन गर्न प्रतिष्ठान नेतृत्वलाई ध्यानाकर्षण गराएका छन् । माघ १ गते प्रेस विज्ञप्ति जारी गर्दै नेकपा एमाले,नेपाली काङग्रेस,नेकपा माओबादी केन्द्र,एकिकृत समाजबादी र जनता समाजबादी पार्टीले सम्झौता कार्यान्वयन गर्न नसक्ने भए  प्रतिष्ठानको प्रमुख नेतृत्वले मार्ग प्रसस्त गर्नु पर्ने सुझाब दिएका छन् । आफ्नो पदीय मर्यादा र गरिमा कायम राख्नपनि दलहरुले पदाधिकारीलाई सचेत गराएका छन् ।

एउटै विषयमा पटक पटक भएको आन्दोलनले प्रतिष्ठानको गरिमामा आँच आएको भन्दै दलहरुले सम्झौताको कार्यान्वयन गर्न माग गर्दै आन्दोलनरत शिक्षक,कर्मचारी र विद्यार्थीहरुलाई आन्दोलनलाई रचनात्मक बनाउन समेत आग्रह गरेका छन् । प्रतिष्ठानको शैक्षिक कार्यक्रम तथा उपचार सेवा प्रभावित नहुने गरि आन्दोलका कार्यक्रम गर्न पनि दलहरुले आग्रह गरेका छन् । प्रतिष्ठान ब्यबस्थापनको गैरजिम्मेवारीका कारण प्रतिष्ठानका शैक्षिक तथा स्वास्थ्य उपचार प्रभावित भए दलहरुले प्रतिष्ठानमा हस्तक्षेप बढाउन बाध्य हुने चेतावनी समेत दलहरुले दिएका छन् । विज्ञप्तिमा नेकपा एमाले धरानका अध्यक्ष हर्कजङ एभेङ,नेपाली काङ्ग्रेस धरानका सभापती श्याम पोख्रेल,नेकपा माओबादी केन्द्र धरानका अध्यक्ष मनोज भट्टराई,जनता समाजबादी पार्टी धरानका अध्यक्ष ताजुव लिम्बु, तथा नेकपा एकिकृत समाजबादी धरानका अध्यक्ष रेवतीरमण राईले हस्ताक्षर गरेका छन् ।

प्रतिष्ठानका डाक्टर तथा कर्मचारीको लामो समयदेखि आन्तरिक बढुवा तथा बृत्ति विकासका कार्यहरु अगाडी बढेका छैनन् । जसका कारण प्रतिष्ठानको शैक्षिक तथा स्वास्थ्य गुणस्तरमा प्रभाब पर्ने तथा प्रतिष्ठानबाट दक्ष जनशक्ति पलायन हुने खतरा बढेको छ ।