भोजपुर/ नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले लामो समयसम्मको द्वन्द्व आपसी समझदारीबाट अन्त्य भएको भन्दै अहिले उठिरहेको पहिचानको मुद्दा पनि समाधान हुने बताएका छन् । 

यही माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका सन्दर्भमा बुधबार भोजपुरका जनप्रतिनिधिसँग कुरा गर्दै उनले राष्ट्रियसभाको निर्वाचनपछि यस विषयमा छलफल हुने बताए ।

“यति ठुलो संघर्ष र द्वन्द्व त समाधान भयो । पहिचानको विषयमा समाधान खोज्नका लागि आपसी समझदारी र छलफल आवश्यक छ”, सिटौलाले भने, “माघ ११ गतेको निर्वाचन पश्चात् राष्ट्रियसभाले पूर्णता पाउनेछ । पूर्णता पाएसँगै पहिचानको मुद्दामाथि छलफल सुरु भई समाधान निकाल्नेछौँ ।” 

उनले संविधान र जनताका पक्षमा काम गर्ने दलका नेतालाई राष्ट्रियसभा निर्वाचनमा मतदान गर्न आग्रह गरे ।

“संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा उभिएको गठबन्धनका दललाई मत दिनुस्”, नेता सिटौलाले भने । राष्ट्रका चुनौती सामना गर्न सबै दलबीच समझदारी आवश्यक रहेकामा उनले जोड दिए ।