विराटनगर/ शहिद स्मृति प्रतिष्ठानले पार्क निर्माण गरी मोरङको लेटाङ–४ मा राखेको सहिद हरि भट्टराईको शालिक नगरपालिकाले नै हटाएको छ ।

नगरप्रमुख भूपेन्द्र लावतीको आदेशमा नगर प्रहरीले सालिक हटाएर निर्माणस्थलमा तोडफोड गरेको हो ।

१० वर्षे जनयुद्धको समयमा सहिद भएका भट्टराईको शालिक निर्माण गरिएको थियो । लेटाङबाट त्यसबेला १६ जनाले ज्यान गुमाएका थिए ।

जसमा ईश्वर ढुंगाना (प्रभात), हरि भट्टराई (परिवर्तन), डम्बर चेम्जोङ (अजम्बर) पुष्प भट्टराई (बादल), मेनुका चेम्जोङ (नमुना), डिल्ली पौडेल (दिलीप)लगायतको शालिकसहित पार्क बनाउने काम प्रतिष्ठानले सुरु गरेको थियो ।

तर, शालिक राखेको केही दिनमै नगरप्रमुख लावतीले नगरप्रहरी लगाएर हटाएको र निर्माणस्थलमा तोडफोड गरेको माओवादी केन्द्रले जनाएको छ ।

शहिद स्मृति प्रतिष्ठान लेटाङका अध्यक्ष कृष्ण लम्साल (अनन्त) ले शालिक हटाएर बहादुरी देखाएको भन्दै त्यसका परिणाम ठिक नहुने चेतावनी दिएका छन् ।

उनले सयौं संघसंस्थाले जग्गा अतिक्रमण गर्दा मौन रहने प्रमुख लावतीले सहिद पार्कमा गिद्धे नजर लगाएको आरोप लगाए ।

यसैबीच माओवादी केन्द्रले लेटाङ नगरपालिकाका नगरप्रमुख भूपेन्द्र लावतीको कार्यकक्षमा तालाबन्दी गरेको छ ।

सहिदका शालिक हटाउन लगाएको विरोधमा माओवादीले तालाबन्दी गरेको हो ।