धरान/ झण्डा बोक्न र नेताको स्तुतीगान गर्न छोडेर विद्यार्थीको समस्या समाधानका साथै समाज र देश बनाउन जुट्नु पर्ने बेला भएका विद्यार्थी नेताहरुलाई कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आग्रह गरेका छन् । 

विद्यार्थीहरूले अब नेताको पछि लाग्नुभन्दा पनि समाज र देशको लागि काम गरेर नमूना प्रदशर्न गर्नुको विकल्प नभएको बताए ।

पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पस धरानका विद्यार्थीहरूले आयोजना गरेको राष्ट्रिय प्रविधि मेलाको समापन कार्यक्रममा मुख्यमन्त्री कार्कीले भने, ‘अहिलेका विद्यार्थी समाजिक सञ्जालमा भ्रष्टाचार भयो भनेर लेख्दै चित बुझाइरहेको अवस्थामा परिवर्तन ल्याउनु जरूरी छ, समाजिक सञ्जालमा भ्रष्टाचार भएको पोष्ट्याएर फेरि नेताको स्तुति गानमा लाग्ने गरेको देखिन्छ ।

के स्तुति गान र समाजिक सञ्जालको पोष्टले देश सुध्रिन्छ ? देश विकासका लागि एक कदम अगाडि बढेर काम गरेर देखाउनु पर्दैन ?’

क्याम्पस लगायतका शैक्षिक संस्थाहरू अहिले ज्ञान बाँड्ने थलो भन्दा पनि सर्टिफिकेट बाँड्ने कार्यालय मात्रै भएको भन्दै मुख्यमन्त्री कार्कीले प्रश्न उठाएका छन् ।

‘शैक्षिक संस्थालाई ज्ञानको मन्दिर बनाइराख्न विद्यार्थी नेताको भूमिका खोइ ?, के विद्यार्थी नेताको काम नेताहरूको घर चहार्ने र स्तुतिगान मात्रै हो ?,’

उनले भने, ‘अब विद्यार्थीहरू रचनात्मक काममा लाग्नुको विकल्प छैन । क्याम्पसहरूलाई किताबी ज्ञान बाँड्ने थलोलाई अध्ययन र अनुसन्धानमा केन्द्रित गरेर समाज परिवर्तन गर्नु आवश्यक छ ।’

संसारका अधिकांश वैज्ञानिकहरू किताब पढेर र शैक्षिक संस्थामा अध्ययन गरेर नभई समाज तथा प्रकृतिको गहन अध्ययनले वैज्ञानिक भएको सबै विद्यार्थीहरूले पढ्ने गरेको तर त्यसलाई बिर्सेर किताबी ज्ञान मात्रै लपने गरेको दैखेर उदेक लागेको मुख्यमन्त्री कार्कीले बताए ।

समाज, प्रकृति र देश पढ्ने, अध्ययन र अनुसन्धान गरेर देश र समाज परिवर्तनका लागि योगदान गर्ने विद्यार्थीको साथ प्रदेश सरकारको रहने उनले प्रतिबद्धता जनाएका हुन् ।

प्रदेश सरकारले तुइन मैत्री प्रदेश बनाउन ल्याएको योजना सफल बनाउन यस क्याम्पसमा इञ्जिनियरिङ पढ्ने विद्यार्थीहरूसँग सहकार्य गर्न मुख्यमन्त्री कार्कीले आह्वान गरेका छन् ।

उनले आर्किटेक्चर इञ्जनियरहरूलाई प्रदेश निर्माण भइरहेको एकीकृत वस्ती र अब निर्माण हुने त्यस्ता वस्तीहरूको फरक ढंगले प्रदेश सरकारसँगको सहकार्यमा उदाहरणीय डिजाइन गरेर सबै विद्यार्थीलाई प्रतिभा देखाउन आग्रह गरेका हुन् ।

प्रदेशभरि निर्माण भइरहेका सडक, भवनलगायतका भौतिक संरचनाको प्राविधिकीय दृष्टिकोणले अनुगमन गरेर प्रदेश सरकारलाई प्रदेशमा सुशासन कायम गर्न मुख्यमन्त्री कार्कीले आह्वान गरेका छन् ।