मोरङ/ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र वन तथा वातावरण मन्त्रालयबिच समन्वय नहुँदा मदन भण्डारी राजमार्गको धरान–केराबारी–लेटाङ–मधुमल्ला बेलडाँगी सडकखण्ड, शान्तिनगर–पातापुर र वारफलाङ्फेदी–शान्तिनगर सडकखण्डका रुख हटाउने काम अझै अघि बढ्न सकेको छैन । 

आयोजनाको निर्माणाधीन ९५ दशमलव ८ किलोमिटर लम्बाइको यस सडकको अधिकांश क्षेत्र जङ्गलभित्र पर्छ ।

धरान–केराबारी–लेटाङ–मधुमल्ला–बेलडाँगी सडकखण्डको ५३ किलोमिटरभित्र ५ हजार ७ सय ८९ वटा रुख पर्छन् , शान्तिनगरदेखि पातापुर सडकखण्डको १३ दशमलव ८७ किलोमिटर क्षेत्रमा ३ हजार ६ सय ८९ वटा रुख पर्छ । यस्तै, वारफलाङ्फेदीदेखि शान्तिनगरसम्मको १३  किमी क्षेत्रमा २ हजार ८ सय ८० वटा रुख छन् । 

मदन भण्डारी राजमार्ग आयोजना दमक कार्यालयका सूचना अधिकारी सुभाषकुमार दत्तका अनुसार आयोजनाले २०७९ चैत १० गते वन मन्त्रालयलाई रुख हटाइदिनु पत्राचार गरेको थियो । वन मन्त्रालयले समयमा रुख नहटाइदिँदा काम रोकिएको आयोजनाका प्रमुख गोपालप्रसाद खकुरेलले बताए ।

खकुरेलका अनुसार एकातिर पर्याप्त बजेटको अभाव छ, भने अर्कोतर्फ रुख हटाउन वन मन्त्रालयले चासो देखएको छैन । उनका अनुसार ४ अर्व ६० लाख ६६ हजारमा ठेक्का लागेको सडकको हालसम्म १ अर्व ५२ करोड १३ लाख ३६ हजार रुपियाँ मात्र भुक्तानी भएको छ । 

त्यस्तै सडकमा पर्ने पुल निर्माण गर्न ६ अर्व १२ करोड ६२ लाख ५४ हजार  रुपियाँमा ठेक्का लगाइएको थियो । मदन भण्डारी राजमार्गको कोशी प्रदेश खण्डमा जम्मा ३७ वटा पुल छन् । जसमध्ये १६ वटा पुल निर्माण सम्पन्न भइसकेका छन् भने २१ वटा पुल निर्माणधीन अवस्थामा छन् । ठूला पुलको काम सकिएको छ भने साना पुल र कल्भर्ट निर्माणाधीन छन् ।

आयोजना प्रमुख खकुरेलले भने, ‘हाल निर्माणाधीन काम सम्पन्न हुँदा ४ अर्ब रुपियाँ भुक्तानी दिनुपर्ने देखिन्छ ।

आव ०८०–०८१ मा आयोजनाका लागि ४९ करोड रुपियाँ मात्र विनियोजन भयो ।

जसमध्ये ३८ करोड रुपियाँ भुक्तानी मागका लागि रसिद पठाइएको छ ।’ उनले हाल भइरहेको काम र प्रगति विवरण हेर्दा आर्थिक वर्षको अन्त्यसम्ममा १ अर्ब ४५ करोड रुपियाँ निर्माण कम्पनीहरूलाई दिनुपर्ने देखिन्छ । तर स्रोतको सुनिश्चितता छैन । 

आयोजनाका सूचना अधिकारी सुभाषकुमार दत्तका अनुसार मदन भण्डारी राजमार्गको कोशी प्रदेश खण्डमा सुनसरीको सर्दुखोलादेखि झापाको पातापुरसम्म १ सय २७ दशमलव ८ किमी लम्बाइ पर्छ । जसमध्ये कमल खोलादेखि सहादतस्थल सम्म ३२ किमी र चतरादेखि सर्दुखोलासम्म ६ किमी ठेक्का लागेको छैन । 

ठेक्का लागेको ९५ दशमलव ८ किमी मध्ये १९ दशमलव ५ किमी सडक मात्र कालोपत्रे भइसकेको छ ।

सडक निर्माणका लागि ७ वटा अलग अलग ठेक्का सम्झौता भएका छन् । सम्झौता अनुसार आयोजनाको कालोपत्रको काम २०८० को पुस २९ गते सम्पन्न गर्नुपर्ने थियो ।

सडक क्षेत्रका रुख हटाउन कानुनी जटिलता हुनु र बजेटको सुनिश्चितता नहुँदा आयोजनाको ठेक्का अवधि थप गरिने आयोजना प्रमुख खकुरेलले बताए । 

यता झापा, मोरङ, सुनसरी र इलामका डिभिजनल वन अधिकृतहरू भने भौतिक पूर्वाधार मन्त्रालयको दोहोरो कामले गर्दा रुख हटाउन कानुनी समस्या भएको बताउँछन् ।

मोरङका निमित्त डिभिजनल वन अधिकृत रामलखन ठाकुरले भने, ‘सुरुमा सडकको केन्द्र बिन्दुबाट १०–१० मिटर दायाँबायाँका रुख हटाउन पत्राचार भएको थियो । सोही अनुसार वन कार्यालयले काम सुरु ग¥यो ।

प्रतिवेदन बनाएर पठाउने तयारी भइरहेको बेला सडकको केन्द्र बिन्दुबाट दाँयाबाँया १५–१५ मिटरका रुख हटाउनुपर्ने भनेर सूचना आयो । पुनः जिल्ला वनहरूले सोही अनुसार गर्ने तयारी थालेका थिए । त्यसपछि फेरि वनमा धेरै ठूलो क्षति हुने भन्दै पूर्ववत् काम गर्न आयोजना तयार भयो ।’

समय–समयमा फरक फरक संख्यामा रुख हटाउनुपर्ने सूचना आएपछि काम रोकिएको ठाकुरको भनाइ छ  । 

मोरङमा मात्र ३५ दशमलव ४ किमी सडक पर्छ । जसमध्ये ७ किमी जङ्गल क्षेत्र छ । जङ्गलका रुखमा नम्बर लगाउनेबाहेक कुनै काम अघि बढेको छैन ।

यस्तै सुनसरीमा ७ किमी, झापामा ३ किमी र इलाममा ६ किमी जङ्गल क्षेत्र पर्छ ।