धरान/  धरान उपमहानगरपालिका वडा न. १८ भित्र रहेको वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा  रहेका पदाधिकारीहरू, चिकित्सक, शिक्षक तथा कर्मचारीहरुविचको आन्तरिक खिचातानी आपसी स्वार्थ र गुटबन्दीका कारण प्रतिष्ठान जर्जर बनेको भन्दैं १८ नं. वडा कार्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

वडाध्यक्ष नरेन्द्रकुमार राई(प्रविण)ले विज्ञप्ति जारी गदैं प्रतिष्ठानमा निरन्तर आन्दोलन, खिचातानी, वेमेलका कारण प्रतिष्ठान नै बन्द हुने अवस्थामा पुगेको प्रति चिन्ता व्यक्त गरिएको छ । 

प्रतिष्ठानमा पुस २९ गतेदेखि निरन्तर भएको बन्द, हड्ताल र कार्य अवज्ञा जस्ता कार्यक्रमहरुले प्रतिष्ठानको अस्पताल सेवा अवरुद्ध भई हजारौं नागरिकले स्वास्थ्य उपचार सेवा पाउने मौलिक हक गुमाउनुका साथै सयौं विद्यार्थीहरुले पढ्न पाउने अधिकार गुमाएको अवस्था प्रति सरोकारवाला गम्भीर हुन जारी विज्ञप्तिमा भनिएको छ ।

हाम्रो वडाको इज्जत, प्रतिष्ठा र सामाजिक आर्थिक भरोसाको रूपमा रहेको यो प्रतिष्ठानको स्थापनामा वडावासी र नगरवासीको अमूल्य योगदान रहेको सर्वविदितै रहेको छ।

  विज्ञप्तिमा भनिएको छ,  प्रतिष्ठान भित्रको आन्तरिक खिचातानीले सम्पूर्ण  संस्थानै तहस नहस भएको आम वडावासी, नगरवासी एवं स्वास्थ्य र शिक्षामा यस प्रतिष्ठानसंग आश्रित रहेका  लाखौं जनसमुदायले टुलुटुलु हेरेर बस्ने अवस्था कदापी रहन्न

“प्रतिष्ठानका पदाधिकारी वा शिक्षक कर्मचारीले सेवा छोडेको दिन प्रतिष्ठानसँग सम्बन्ध टुट्न सक्ला तर आम धरानवासीको जन्मजन्मान्तरसम्म प्रतिष्ठानसंग सम्बन्ध रहन्छू भन्ने हेक्का प्रतिष्ठानमा सेवारत सम्पूर्णलाई हुनु जरुरी देखिन्छ ।

 यद्यपी, आम धरानवासीले प्रतिष्ठानका सेवाकर्मीहरु प्रति सदैव कृतज्ञता व्यक्त गरेकै अवस्था छ ।

उनीहरुका जाहेज मागप्रति सकरात्मक रहेकोसमेत भनिएको छ ।

  विगत केही दिन देखिका प्रतिष्ठान भित्रका गतिविधिहरू हामी गम्भीर ढंगले नियालिरहेका छौं र अब धेरै दिन आम धरानवासी विरामी हुँदा आफ्नै आँगनमा रहेको अस्पतालमा उपचारबाट बन्चित हुने अवस्था प्रति मुकदर्शक भएर बस्नु आम नागरिकप्रति हामी गैर जिम्मेवार भएको ठहरिने वडाले ठहर गरेको छ ।

अतः सम्पूर्ण स्वास्थ्य उपचार सेवा र पठनपाठन तत्काल सूचारु गर्न र आन्तरिक खिचातानी छोडेर तत्काल आफ्ना निकाय मार्फत शिक्षक कर्मचारीको न्ययोचित बढुवा र विद्यार्थीहरुको पठन पाठन सम्वन्धि विद्यमान समस्याको उचित समाधान निकाल्न प्रतिष्ठानका पदाधिकारी, शिक्षक, चिकित्सक र कर्मचारीहरुलाई आव्हान गरेको छ ।

  “स्वास्थ्य उपचारको जनताको मौलिक हकू खोसिंदा निम्तिन सक्ने अवस्थाको जिम्मेवारी समेत सम्बन्धित पक्षले लिनुपर्ने तर्फ सजग रहन र प्रतिष्ठानको सेवा सूचारु गर्ने कार्यमा सहजिकरण गर्न नेपाल सरकार, स्थानीय सरकार, राजनैतिक दल र सम्पर्ण सरोकारवालाहरुसंग अध्यक्ष राईले आग्रहसमेत गर्नु भएको छ । 

वडाको आग्रह र अनुरोधलाई नसुनि प्रतिष्ठानको अस्पताल सेवा र पठन पाठन तत्काल सूचारु नभएमा चरणवद्ध विरोध कार्यक्रम संचालन गरिने अध्यक्ष राईले चेतावनीसमेत दिनुभएको छ । 

१८ नं. वडाको गहनाको रुपमा रहेको प्रतिष्ठान धारासायी बनाउनेहरुलाई वडावासीहरु घेराउ गर्न जानेसमेत उहाँले जानकारी गराउनुभएको छ ।

धरानको गहनालाई बवारिसे बनाउने झुण्ड विरुद्ध अव मेरो नेतृत्वमा वडावासीहरु पुगेर नाङगेझार पार्ने छन् । दल भन्दा माथि उठेर प्रतिष्ठान सुधार गर्न आफु लागेको उहाँले बताउनुभयो ।