फुङलिङ/  प्रतिनिधिसभा सदस्य बसन्तकुमार नेम्बाङ अकस्मात बिरामी परेपछि उपचारका लागि काठमाडौं लगिएको छ । उनलाई थप उपचारका लागि हेलिकप्टरमा काठमाडौं लगिएको हो ।

नेकपा एमाले ताप्लेजुङको सचिवालय बैठकमा सहभागी हुन फुङलिङ आएका उनी अचानक बिरामी परेका हुन् ।

सांसद नेम्बाङलाई हेलिकप्टरमा काठमाडौं लगिएको एमाले ताप्लेजुङका अध्यक्ष भूपेन्द्र थेबेले जानकारी दिए । जिल्ला अस्पतालले उनलाई उपचारका लागि सुविधासम्पन्न अस्पताल लैजान सुझाव दिएपछि काठमाडौं लगिएको अध्यक्ष थेबेले बताए ।

पाँचथरबाट निर्वाचित सांसद नेम्बाङ एमाले ताप्लेजुङको इञ्चार्जसमेत हुन् ।

उनी बुधबार बिहान फिदिमबाट ताप्लेजुङ पुगेका थिए । खाना खाएर कार्यक्रममा जाने समयमा अचानक बिरामी परेपछि सांसद नेम्बाङलाई नजिकैको तमोर अस्पताल लगिएको थियो ।

तमोर अस्पतालमा प्रारम्भिक स्वास्थ्य परीक्षणपछि उनलाई जिल्ला अस्पताल लगिएको थियो ।

जिल्ला अधिवेशनलगायत विषयमा छलफल गर्न एमाले ताप्लेजुङको सचिवालय बैठक डाकिएको थियो । सोही बैठकका लागि सांसद नेम्बाङ फुङलिङ आएको अध्यक्ष थेबेले बताए ।