धरान/ १५ नम्बर वडा कार्यालयको आयोजना तथा केएचडिसिसँगको सहकार्यमा स्वास्थ्य शिविरबाट रोग पत्ता लागेका विरामीहरुलाई १५  नं. वडा समिति र केएचडिसी मिलेर निःशुल्क उपचार गरिदिने भएको छ ।

वडाबासीहरुलाई उच्च रक्तचाप, मधुमेह, मृगौला र कोलेस्ट्रोल सम्बन्धी उपचार सेवा एकै ठाउँबाट प्रवाह गर्न माघ २९ गतेदेखि शिविर आयोजना भइरहेको वडा अध्यक्ष नरेश ईवारमले जानकारी दिए ।

भौतिक संरचना निमार्ण मात्रै विकास नभएर मानव विकास र  स्वास्थ्य सुधार गर्ने कार्य पनि विकास भएकोले स्वास्थ्य शिविर गरिएको वडाअध्यक्ष इवारमले बताए ।

चार दिनमा ४ सय भन्दा बढिको रगत संकलन गरिएको थियो भने शुक्रबार पाँचौ दिनमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रा.डा.सन्जिव शर्माको नेतृत्वमा १० जना डाक्टरहरुले रिपोर्ट हेरेर थप परामर्श पनि दिएका थिए ।

वडाका ३९ वटा टोल विकास समितिका लगभगत ७ हजार भन्दा बढिले सेवा लिन सक्ने अनुमान जनप्रतिनिधीले गरेका छन् ।

धरान १५ को स्वास्थ्य केन्द्रमा हरेक दिन १०० जनाको रगत संकलन गर्ने र पाँचौ दिनमा डाक्टरलाई रिपोर्ट देखाउने, परामर्श लिने व्यवस्था वडा समिती र टोल विकास समितीले गरेको छ ।

वडाबासीहरुले पनि स्वास्थ्य उपचारको लागि वीपी प्रतिष्ठान जान नपर्दा धेरे सहज भएको प्रतिक्रिया दिएका छन् ।