सुनसरी/  इटहरीस्थित नयन एड्भरटाइजिङ मिडिया प्रालिद्धारा सञ्चालित प्रदेश खबरको पहिलो वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि रहेकी प्रतिनिधिसभाकी उपसभामुख  इन्दिरा रानाले हरेक ठाउँमा पत्रकारको अहम् भूमिका रहने बताइन् ।

‘पत्रकारिता, लोकतन्त्र र स्वतन्त्रता एकअर्काको परिपूरक हुन्,’ उपसभामुख रानाले भनिन्, ‘मैले जेलभित्र बसेर काम गरेको अनुभव रहेका कारणपनि पत्रकारहरूसँग नजिक छु ।’

उनले पत्रकारहरू नागरिक अधिकारका पैरवी गर्ने कलमजीवीहरू रहेको बताइन् ।

उपसभामुख रानाले भनिन्, ‘पत्रकारिता क्षेत्रमा रहेर लामो समयसम्म निरन्तर जनताका आवाज मुखरित गर्नेहरूलाई सम्मान गर्नु सकारात्मक पक्ष हो ।

खासगरी पत्रकारिताका कारण भ्रष्टाचार शून्य हुन पनि सहज पुग्छ ।’

उनले पत्रकारिताको माध्यमबाट देशमा भइरहेका भ्रष्टाचार, बेथिति चिर्न सकिने बताउँदै अबको पत्रकारिता जनमुखी हुनुपर्ने बताइन् ।

उक्त कार्यक्रमको अवसर पारेर कोशी प्रदेशमा रहेका प्रेस स्वतन्त्रता सेनानी, क्रियाशील पत्रकार र शुभचिन्तकहरूलाई पनि सम्मान गरिएको थियो ।

प्रेस स्वतन्त्रता सेनानी हर्ष सुब्बा (सुनसरी)कृष्णविनोद लम्साल (सुनसरी) भवानी बराल(सुनसरी), शिबबहादुर कार्की (मोरङ) चन्द्र भण्डारी (झापा) कृष्ण आचार्य (खोटाङ), कौशल चेम्जोङ(उदयपुर) र सञ्जय सन्तोषी राई (धनकुटा)लाई सम्मानसमेत गरियो ।

उनीहरूलाई दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरिएको थियो ।

सम्मानित व्यक्तिमध्ये सुब्बा २०२९ सालदेखि पत्रकारिता पेसामा आवद्ध छन् । लम्साल ३० को दशकदेखि नै पत्रकारिता पेसामा आवद्ध रहेका छन् ।

उनको नेतृत्वमा तत्कालीन पत्रकार संघलाई २०५३ सालमा सुनसरीबाट पत्रकार महासंघ बनाइएको थियो । यसैगरी बराल चार दशकयता पत्रकारितामा आवद्ध छन् ।

कार्की २०२० को दशकदेखि पत्रकारितामा आवद्ध छन् भने आचार्य २०३२ सालदेखि पत्रकारिता पेसामा आवद्ध छन् ।

यसैगरी चेम्जोङ पञ्चायती व्यवस्थाको विरुद्धमा कलम चलाउँदै आएका छन् । राई ०४३ सालदेखि पत्रकारितामा सक्रिय छन् ।

यसैगरी उत्कृष्ट फोटो पत्रकारिता पुरस्कार २०८० बाट प्रदीपराज वन्त, साहसिक पत्रकारिता पुरस्कारबाट किशोर बुढाथोकी, उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सुरेन्द्र भण्डारी, टीका खतिवडा र सृजनशील पत्रकारिता पुरस्कारबाट विवेक विवश रेग्मी पुरस्कृत भएका छन् । उनीहरूलाई जनही नगद ११ हजार एक सय ५१ रुपैयाँसहित दोसल्ला र सम्मान पत्रले पुरस्कृत गरियो ।

पुरस्कृतहरू वन्त लामो समयदेखि राष्ट्रिय समाचार समितिमा आवद्ध छन् भने राष्ट्रिय फोटो पत्रकारिता समूहका अध्यक्ष छन् ।

उनी डेढ दशकयता फोटो पत्रकारिता गर्दै आएका छन् ।

यसैगरी बुढाथोकी अन्नपूर्ण पोस्टसँग आवद्ध छन् । विराटनगरमा बसेर आपराधिक क्षेत्रलाई बिट बनाएर पत्रकारिता गर्दै आएका बुढाथोकी करिब दुई दशकदेखि पत्रकारिता पेसामा आवद्ध छन् ।

यसैगरी भण्डारी करिब डेढ दशक र खतिवडा करिब एक दशकदेखि पत्रकारितामा आवद्ध छन् ।

दुवैजना प्रदेश खबरसँग आवद्ध छन् । यसैगरी रेग्मी करिब एक दशकदेखि पत्रकारिता पेशामा आवद्ध छन् । उनी हिमाल प्रेस र राजधानी दैनिकमा आवद्ध छन् ।

यस्तै, पर्यटनको क्षेत्रमा योगदान पुर्‍याएको भन्दै नारायण पौडेल र दीपक थापालाई सम्मान गरिएको थियो ।

यसैगरी चार दशकयता पत्रपत्रिका वितरण गरी समाजलाई सुसूचित गराउँदै आएका लेखराज श्रेष्ठ र सूचना प्रविधिको क्षेत्रमा योगदान पुर्‍याएको भन्दै आरबी कटवाललाई सम्मान गरिएको थियो ।

प्रदेश खबरका अध्यक्ष पवन अधिकारीले प्रेस स्वतन्त्रता सेनानीबाट उपाधि प्राप्त गरेका बरिष्ठ पत्रकारलाई सम्मान गरिएको र हाल क्रियाशील रहेका पत्रकारहरूलाई पुरस्कार प्रदान गर्न पाउनु खुशीको कुरा रहेको बताए ।

उनकाअनुसार मिडिया हाउसले कोशी प्रदेशलाई प्राथमिकतामा राखेर विभिन्न प्रदेशका कार्यक्रम सम्प्रेषण गर्दै आएको छ ।

पछिल्लो समय डिजिटल पत्रकारिताको विकाससँगै आफूहरूले सत्य, तथ्य र निष्पक्ष रही पत्रकारिता गर्दै आएको उनको भनाइ छ ।

‘हामीले जिम्मेवार पत्रकारिता गर्नुपर्छ भन्ने उदेश्यले निरन्तर जनताका आवाजलाई मुखरित गरिरहेका छौँ,’ अधिकारीले भने, ‘पत्रकारिता क्षेत्र जिम्मेवारसँगै जनतालाई सुसूचित गराउनमा हामी प्रतिबद्ध छौँ ।’