धरान/ विभिन्न समुहद्वारा निर्मित पार्कहरु धरान उपमहानगरपालिकामा सुचिकृत गर्ने विषयमा कार्यपालिका सदस्यहरुले अध्ययन समिती गठन गर्न माग गरे पछि मेयर हर्कराज राईले कार्यपालिका बैठकनै स्थगित गरेर कार्यपालिका सदस्यहरुको मानहानी गरेको आरोप लागेको छ । 

मंगलबार भएको कार्यपालिका बैठकमा मेयर राईले हस्तान्तरित पार्कहरुलाई सुचीकरण तथा व्यववस्थापन गर्ने सम्बन्धमा पेश गरिएको प्रस्ताव माथि छलफल गर्न कार्यपालिका सदस्यहरुले सुझाव राख्ने क्रममा उनले प्रस्ताव माथि कुनै छलफल नगरिने भन्दै कार्यपालिका बैठकनै स्थगित गरेको घोषणा गर्दै बाहिरिएका थिए ।

उनी बाहिरिए पछि उपमेयर सहित वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले बैठकको अपमान गरेको आरोप लगाएका हुन् । उनको एकांकी ढंगले बैठक संचालन गर्न खोजेको कार्यपालिका सदस्यहरुको गुनासो छ । 

मेयर राई बैठक स्थगित गरेर बाहिरिए पछि उपमेयर सहित कार्यपालिका सदस्यहरु बैठक कक्षमै बसेका थिए । उनीहरु मेयर फर्कने आशमा थिए ।

बैठकमा मेयर राईले धरान १३ स्थित सर्दु खोलामा विभिन्न समुहले श्रमदानबाट बनाएको पार्कलाई धरान उपमहानगरपालिकाले सुचीकरण गर्न प्रस्ताव गरेका थिए ।

राईले स्वतन्त्र नागरिक समाजद्वारा निर्मित एसएनएस पार्क चौतारी, सचेत धराने समुहद्वारा निर्मित एसडिएस रक गार्डेन, स्वतन्त्र दिदीबहिनी द्वारा एसडिबी रोज गार्डेन, स्वतन्त्र नागरिक समाजद्वारा निर्मित आरा धरान पार्क चौतारी, ब्रिटिस भु.पु. सैनिक समुदायद्वारा निर्मित गोर्खा स्मृति स्तम्भ र वीपी पार्कलाई सुचिकरण गर्न प्रस्ताव गरेका थिए । 

उनको प्रस्तावमा कार्यपालिका सदस्य दिनेश विश्वकर्माले सुझाव पेश गर्दै यस विषयमा अध्ययन गर्नु पर्ने बताएका थिए ।

विश्वकर्माको प्रस्तावमै उनले अघिल्लो बैठकले निर्णय गरे अनुसार छलफलनै गर्नु नपर्ने भन्दै बोल्न रोक लगाएका थिए ।

कार्यपालिका बैठकमा छलफल नै नगरि प्रस्ताव पारित नहुने भन्दै सदस्यहरुले अवरोध गरेका थिए ।

बैठकमा जबरजस्ती प्रस्ताव पारित गर्न मेयर राईले बारम्बार कार्यपालिका सदस्यहरुलाई भनेका थिए । 

बैठकमा प्रस्ताव माथि छलफलनै गर्न नदिने मेयरको जबरजस्तीले विधि प्रक्रिया अनुसार नभएको कार्यपालिका सदस्य शिर्जना नेपालले बताईन् ।

आफु खुशी प्रस्ताव पारित गर्ने भए किन बैठक बोलाउने भन्दै मेयर राईको कटाक्ष गरेकी थिईन् ।

बैठकमा पेश हुने प्रस्तावहरु मथि पर्याप्त छलफल गर्नु पर्ने उनले बताईन् । मेयरले जबरजस्ती बैठकमा आफ्नो प्रस्ताव पारित गर्न दबाब दिएको भन्दै उनले विरोध जनाईन् । 

बैठकमा कार्यपालिका सदस्य दिनेश विश्वकर्माले संघीय र प्रदेश सहित स्थानीय सरकारले करिब १ करोड ३२ लाख रुपैया पार्क निर्माणमा खर्च गरिसकेकाले त्यसको खर्च विवरण सार्वजनिक गर्नुपर्ने माग गरेका थिए ।

त्यसै गरि श्रमदान मार्फत बनाएका संरचनाहरुको वस्तुस्थिती सार्वजनिक गर्नुपर्ने बताएका थिए । उनले पार्क निर्माण भएको क्षेत्रमा १३ नम्बर वडा तर्फ नम्बरी जग्गा पर्ने र २० नम्बर वडा तर्फ उठान क्षेत्र पर्ने भएकाले कानुनी अवरोध आउन सक्ने भन्दै यस विषयमा अध्ययन गर्नुपर्ने बताएका थिए । खोला क्षेत्रको उपयोग तथा उपभोग गर्न वन ऐन र स्थानीय सरकार संचालन ऐन बाझिएकाले पछि समस्या आउने भएकाले पहिले अध्ययन गर्नुपर्ने उनको माग रहेको थियो । 

सोही प्रस्ताव माथि वडा नम्बर २० का वडाअध्यक्ष पदम प्रसाद लिम्बुले पार्क क्षेत्र नम्बरी जग्गामा भएकाले अहिले नै निर्णय गर्न नहुने बताएका थिए । 

मेयर राई बैठक स्थगित गरेर बाहिरिए पछि उपमेयर सहित कार्यपालिका सदस्यहरु बैठक कक्षमै बसेका थिए । उनीहरु मेयर फर्कने आशमा थिए ।

उपमेयर आइन्द्रविक्रम वेघाले पनि मेयर राईलाई फर्किएर बैठक संचालन गर्न आग्रह गरेका थिए । उनले पनि प्रस्ताव माथि कार्यपालिका सदस्यहरुले माग गरे बमोजिम अध्ययन गर्न समिती बनाउन आग्रह गरेका थिए । तर मेयरले कसैको पनि कुरा नसुनि आफै सुचिकृत गर्ने भन्दै जबरजस्ती गरेका थिए ।