रंगेली/  मोरङको रंगेली नगरपालिका वडा नम्बर ७ स्थित मुन्डाकाली लगायत १० स्थानमा डिप बोरिङको निर्माणकार्य सुरु भएता पनि हाल सम्म पनि सम्पन्न हुन सकेको छैन ।  

नेपाल सरकारले ०७३/०७४ मा संयुक्त तराई विशेष कार्यक्रम अन्तर्गत कृषकहरूलाई लक्षित गर्दै ऊर्जा तथा सिँचाई जलस्रोत मन्त्रालय अन्तर्गत कामको सुरुवात गरेको थियो । तर सरकारको ढिलासुस्तिका कारण सो क्षेत्रमा काम भने हुन सकेको छैन । रंगेली नगरपालिकाको गोहिगाडा, निचामरि, बागान टोल,

वडा ४ को स्वास्थ्य चौकी पछाडी, ५ को अपगाछी, ६ को मधुवनी, ७ को लभटोली, ८ को दर्वेशा, ९ को दोहमना र सखुवाथान मा बोरिङका लागि कालिका बिल्डिङ्गले ठेक्का पाएको थियो । 

बिगत दुई बर्ष अगाडि १५ दिन सम्म काम गरेर उक्त बोरिङ गाडिएको थियो । तर डेढ वर्ष बितिसक्दा समेत अहिलेसम्म पनि सो बिरिङ सञ्चालनमा आउन सकेको छैन ।

सो बोरिङ सन्चालनमा आएमा क्षेत्रमा रहेको ६ सय बिघा भन्दा बढी खेतीयोग्य जमिनमा एकैचोटि सिचाइ गर्ने सहज हुने स्थानीय बताउँछन् ।

खेतीहरुमा एकैचोटी एउटै फसल उत्पादन भएको र सिँचाइको समेत एकैचोटी व्यवस्थापन गर्नुपर्ने भएका कारणले अरु कृषकहरुले   राखेको मोटरको पालो पर्खुनु पर्ने अवस्था रहेको छ । 

समयमै बालीमा पानी नहाल्दा उत्पादनमा समेत ह्रास आउने गरेको स्थानीय अंकुश मण्डलले बताए । तर स्थानीय सरकारले भने अहिलेसम्म कुनै चासो नदिएको समेत आरोप लागाएका छन  ।

कालिका बिलिङका प्रमुख शैलेन्द्र न्यौपानेले बोरिङ गाड्ने काम सम्पन्न गरेको बताए । उनका अनुसार बोरिङको काम सम्पन्न गरेर २ करोड रुपैयाँ ठेक्का प्रकृया मार्फत रकम लिई सकेको बताए । 

ऊर्जा तथा  सिँचाई  जलस्रोत मन्त्रालयका नीर गणेश पोख्रेलका अनुसार बजेट अभावका कारण काम गर्ने नसकेको हो ।

केही महिना अगाडि पुनः काम सन्चालन गर्ने स्टिमेट गरेर प्रक्रिया अगाडि बढाएको पोख्रेलले बताए ।

रङ्गेली नगरपालिकाका मेयर दिलिप बगडियाका अनुसार उक्त बोरिङ निर्माणका कार्यका लागि आफूहरूले स्थान मात्रै तय गरेर दिएको र अहिलेसम्म कुनै पनि ठेकेदारले आफूहरूसँग समन्वय नगरिकन निर्माण कार्य अधुरै पारेर छोडेको हो ।