धरान/ धरान १७ स्थित सप्तरंगी पार्कको जग्गामा आफ्नो जग्गा पर्यो भन्दै केही व्यक्तिहरुले पिलर गाडेर घेराबारा गरेको पाइएको छ ।

बिहिबार मेयर हर्क राज राईले सप्तरंगी पार्कभित्र सरसफाई कार्यक्रम लिएर पुगेपछि मात्र व्यक्तिले आफ्नो जग्गा भन्दै पिलर गाडेको खुलेको हो ।

मेयर राईले तत्काल पिलर उखेल्न निर्देशन दिएका थिए । साथै, नगरमा जानकारी नदिएको भन्दै हेरालु (चौकीदार)लाई लिखित स्पष्टीकरण पेश गर्न पनि निर्देशन दिएका थिए । 

मेयर राईले पार्कको जग्गामा को व्यक्तिहरुले पिलर गाडेर कब्जा जमाउन खोजेको हो भनेर तत्काल खोजी गर्ने बताए ।

उनले भने, ‘कस्ले बारेको, किन बारेको म सबै खोज्छु । यस्ता पार्क संरक्षण गर्नुपर्छ, यो धराने जनताको सम्पत्ति हो । सार्वजनिक जग्गा, पार्क सबै जनताको हो, र संरक्षण गर्ने दायित्व, जिम्मेवारी पनि सबैको हो ।’ 

वडा नं १७ का वडा सदस्य मनिष बिष्टले केही व्यक्तिहरुले जग्गा धनीपुर्जासहित आएपछि वडा नं १७ को कार्यालय, नापीका अमिनले जग्गा नापजाँच गरेको र जग्गाधनीहरुले नै पिलर गाडेको जानकारी दिए ।

उनका अनुसार करिब ६ महिना अगाडि पार्कभित्रको जग्गामा नापजाँच भएको हो । आफुहरु सानै हुँदादेखि उक्त क्षेत्रमा सप्तरंगी पार्क देखेको भएपनि जग्गा धनीपुर्जासहित व्यक्तिहरु आएकोले नापजाँच रोक्न नसकेको उनले बताए ।

उनले यसबारेमा मेयर राईलाई पनि जानकारी दिएको र जग्गाधनी भनिएका व्यक्तिहरुले निवेदनसहितको फाइल पनि उपमहानगरपालिकामा पु¥याइसकेको जानकारी दिए । उनले पनि उक्त क्षेत्र सप्तरंगी पार्कभित्रकै भएकोले व्यक्तिको नाममा भएपनि उनीहरुलाई केही क्षतिपूर्ति दिएर भएपनि लिनुपर्ने बताए ।

जग्गा नापजाँच गर्न आउनेहरुले २० बर्षअघि तिर जग्गा किनेको जानकारी आफुहरुलाई दिएको बिष्टले बताए । ‘त्यतिबेला पश्चिम उत्तर डाँडापट्टी घेराबारा थिएन । त्यो डाँडामाथिको जग्गा हो भनेर बेचेछन्, तर जग्गा पार्कभित्र थिएछ,’ विष्टले भने ।

पुर्वनगरप्रमुख ध्यानबहादुर राईले सर्दु खोलाको बाढी पसेर बगर बनेको क्षेत्रलाई सप्तरंगी पार्कको रुपमा विकास गरेका थिए ।

बाढी पस्नुअघि व्यक्तिको जग्गा भएकोले सप्तरंगी पार्कको जग्गाहरु अहिले पनि व्यक्तिकै नाममा भएको अनुमान गरिएको छ । वडा सदस्य विष्टका अनुसार विभिन्न व्यक्तिहरुले १० कट्टा हाराहारीमा जग्गा दाबी गरेका छन् ।