मोरङ/कोशी नामाकरण खारेजीको माग गर्दै मृत्युवरण गर्न पुगेका पहिचानवादी नेता पदम लिम्बु लाजेहाङको परिवारलाई कोशी प्रदेश सरकारले पाँच लाख दिने निर्णय गरेको छ ।

गत ५ चैतमा भएको आन्दोलनका लाजेहाङ घाइते भएका थिए । घाइते लिम्बूको उपचारका क्रममा चैत्र १०  मृत्यु भएको थियो ।

उनको मृत्यु भएको दुई दिनपछि अर्थात चैत्र १२ गते कोशी प्रदेश सरकारले उनको परिवारलाई तीन लाख रुपैयाँ राहत दिने निर्णय गरे पनि परिवारले पाएका थिएनन् ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लिम्बूको परिवारलाई पाँच लाख रुपैयाँ राहत दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री शमशेर राईले जानकारी दिए ।

अघिल्लो सरकारले राहत दिने निर्णय गरेपनि निकासा गरेको नदेखिएकाले आन्दोलनरत पक्षसँगको सहमति पछि परिवारलाई सरकारले राहत दिने निर्णय गरेको मन्त्री राईले बताए ।

बैठकले पहिचान पक्षधरको आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचारको खर्च व्योहोर्ने प्रक्रिया सुरु गर्ने निर्णय पनि गरेको छ ।

१७ फागुन २०७९ मा प्रदेशसभाले प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधर आन्दोलनमा उत्रिएका थिए ।

१७ फागुन २०७९ देखि चर्किएको आन्दोलन गत २६ माघमा सरकारसँगको पाँच बुँदे सहमतिपछि साम्य भयो । सहमति पछि सरकारले मृतक परिवारलाई राहत दिने निर्णय गरेको हो ।