विराटनगर/ कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकार परिवर्तन गर्न काङ्ग्रेसकै प्रदेश सभा सदस्यहरू लागेका छन् ।

सरकार परिवर्तन गर्ने कामको नेतृत्व अमृत अर्यालले गरिरहेका छन् ।

उनी नेपाली काँग्रेसको तर्फबाट मोरङ ५(१) बाट निर्वाचित भएका हुन् । लामो समय नेपाली काँग्रेस मोरङको सभापति भएका अर्याल मुख्यमन्त्री बन्ने भन्दै निर्वाचनमा होमिएका थिए ।

संसदीय दलको नेताको निर्वाचनमा २ मत पाएपछि उन मुख्यमन्त्रीको दौडबाट बाहिरिएका थिए ।

काँग्रेस संसदीय दलको नेतामा निर्वाचित हुन नसकेका अर्याल बुधवार साँझ एमाले अध्यक्ष केपी ओलीलाई भेट्न ओली निवास बालकोट पुगेका छन् ।

बुधवार साँझ बालकोट पुगेका प्रदेश सभा सदस्य अर्यालले केदार कार्की नेतृत्वको सरकार वैधानिक नहुने र नयाँ सरकार बनाउनु पर्ने ओली समक्ष बताएका छन् ।

उनले आफ्नो नेतृत्वमा सरकार बनाउन सहयोग गरिदिन अध्यक्ष ओली समक्ष अनुरोध गरेका छन् । भेटमा तत्काल केदार कार्की नेतृत्वको बहिर्गमन हुनु पर्ने बताएका छन् ।

अर्यालको अनुरोधमा अध्यक्ष ओलीले हेरौला भन्ने बचन दिएका छन् ।

सरकार पविर्तनका विषयमा कुरा गर्न गएको प्रदेश सभा सदस्य अर्यालले स्वीकार गरेका छन् । उनले एमाले अध्यक्ष ओलीसँग भेट सकारात्मक कुरा भएको बताए ।

उनले अध्यक्ष ओलीसँग सरकार परिवर्तनका विषयमा र अन्य विषयमा पनि कुरा भएको बताए । ‘सबै कुरा विराटनगर आएपछि भन्ने छु । भेट सकारात्मक भयो ।’ अर्यालले भने ।

संविधानको धारा १६८(५) अन्तरगत सरकार बनाउने बेलामा पनि उनी एमाले अध्यक्ष ओलीसँग भेट्न पुगेका थिए ।

सो भेटमा ओलीले सरकार गठन गर्न पुग्ने संख्या लिएर आउन भनेका थिए । एमाले श्रोतले भन्यो अर्यालले सरकार गठनका लागि काँग्रेसका आवश्यक सांसद पु¥याउन नसकेपछि केदार कार्कीसँग सरकार गठनका विषयमा कुरा भएको थियो ।

एमालेका ३९ प्रदेश सभा सदस्य रहेको बेला आर्यालले काँग्रेसका ८ प्रदेश सभा लिएर आउनु पर्ने थियो ।

उनले ८ जना काँग्रेसका प्रदेश सभा सदस्यको हस्ताक्षर लिएर आउन नसकेपछि एमालेले काङ्ग्रेसकै केदार कार्कीलाई मुख्यमन्त्री बनाउन सहयोग गरेको थियो ।

एमाले स्रोतले भन्यो,’अर्याल अहिले पनि मुख्यमन्त्री बनाइदिन प¥यो भन्नुहुन्छ । अहिले हामी आफैँ सरकार गठन गर्न सक्ने सजिलो अवस्थामा छौं । उहाँलाई किन मुख्यमन्त्री बनाउनु प¥यो ?’