धरान / मेयर हर्कराज राईले एकलौटी गरेको निर्णयलाई कार्यान्यवन गर्न दबाब दिए पछि धरान उपमहानगरपालिकाको वडाअध्यक्ष सहित कार्यपालिका सदस्यहरुले विरोध जनाए पछि मेयर राई एक्कासी बैठक स्थगित गरेको घोषणा गर्दै बाहिरिए ।

विहिबार बसेको कार्यपालिका बैठकमा मेयर राईले पेश भएको एजेण्डालाई जबरजस्ती पेलेरै निर्णय गराउने तर्फ अघि बढे पछि वडाअध्यक्ष सहित कार्यपालिका सदस्यहरुले विरोध जनाएका थिए ।

प्रक्रिया र विधि सम्मत एजेण्डालाई पेश गर्न आग्रह गर्दै वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले माग गरेका थिए ।

तर मेयर राईले आफुले गरेको निर्णयबाट पछाडि नफर्कने भन्दै जबरजस्ती निर्णय गर्न खोजेका थिए ।

बैठकमा पेश भएका विविध सहितको १५ वटा एजेण्डाहरु मध्ये सांगितिक साँस्कृतिक सम्पदा निर्माण सम्बन्धको प्रस्तावलाई अघिल्लो बैठकमा राख्ने निर्णय गर्दै १३ वटा निर्णय सर्वसम्मत गरिएको थियो ।

अन्तिम दुई वटा एजेण्डामा भने विवाद सिर्जना भए पछि मेयर राईले बैठक स्थगित भएको भन्दै हलबाटै बाहिरिएका थिए ।

बैठकमा एजेण्डा नं १४ मा रहेको कानुन तर्जुमा मस्यौदा समिति गठनबारे चर्को विवाद भयो ।

विधेयक मस्यौदा तर्जुमा गर्न मेयरको संयोजकत्वमा कार्यपालिकाले तोकिएको सदस्यहरु रहने गरि कानुन तर्जुमा समिति गठन गर्न मेयर राईले एजेण्डा पेश गरेका थिए ।

एजेण्डामा वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले मर्यादामा नगरसभाले बनाएको विधायन समितिभन्दा कम भएकोले मेयर संयोजक नबस्न र उपमेयरलाई संयोजक बनाएर लैजान प्रस्ताव गरेका थिए । तर, मेयर राईले आफै संयोजक बस्ने अडान लिएका थिए ।


वडा नं १५ का अध्यक्ष नरेश इवारमले नगर प्रमुख वा उपप्रमुख मध्ये एक संयोजक बस्ने भन्ने व्यवस्था भएको र नगर प्रमुख समग्रमा निरीक्षण, अनुगमन गर्ने जिम्मेवारी पनि भएकोले उपप्रमुखलाई संयोजक बनाउन प्रस्ताव गरेका थिए ।

समितिको सदस्यहरुमा विद्या शाक्य, रुपेश आचार्य, विवेक राई, विकाश भाटी, सावित्री परियार, कृष्णप्रसाद भट्टराईलाई प्रस्ताव गरेका थिए ।

तर, मेयर साम्पाङले संयोजक तोक्ने आधिकार आफुलाई रहेको भन्दै उक्त प्रस्ताव अस्वीकार गरेका थिए ।

कार्यपालिका सदस्य दिनेश गजमेरले मेयरको संयोजकत्वमा बनेको समितिले बनाएको विधेयकलाई नगरसभाले बनाएको विधायन समितिले रोक्नसक्ने भएकोले उक्त समितिमा मेयर आफै बस्न उचित नहुने धारणा राखेका थिए ।

तर, मेयरले समिति संयोजकमा आफै बस्ने अडान लिएपछि सहमति हुन नसक्दा एजेण्डानै हटाइएको थियो । 

त्यस्तै, अन्तिममा रहेको विविधमा समावेश गरिएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको प्रादेशिक कार्यालयको लागि धरान १६ स्थित कृषि विकास बैंकको स्वामित्वमा रहेको भवन मर्मत गर्ने एजेण्डामा भने पुनः विवाद चर्किएको थियो ।

वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले उक्त भवन प्रयोग गर्नेबारे बैंक, प्रतिष्ठान र नगरबीच भएको सम्झौता देखाउनुपर्ने र भवन मर्मत गर्न लाग्ने खर्चको स्रोत पनि खुलाउनुपर्ने माग गरेका थिए ।

तर, मेयर साम्पाङले प्रतिष्ठानको कार्यालय धरानमा राख्ने विगतमै निर्णय भइसकेको जिकिर गर्दै मर्मत गर्ने निर्णय मात्र गर्न आग्रह गरेका थिए ।

उनले मर्मत गर्ने खर्चको स्रोत खोज्ने जिम्मा आफ्नो भएको र सम्झौता प्रशासनमा बैठक पछि गएर हेर्न आग्रह गरेका थिए ।

यो एजेण्डामा चर्काचर्की भएपछि बैठकमा पारित हुन सकेन ।

सोही एजेण्डामा उपमेयर अइन्द्रबिक्रम बेघाले बोल्न खोज्दा खोज्दै मेयर साम्पाङले विविधको अर्को एजेण्डा पढ्न थालेका थिए । तर, एक्कासी मेयर साम्पाङले बैठक स्थगित भयो भनेर उठेर हिडेका थिए ।
उपमेयर बेघाले पत्रकारलाई प्रतिक्रिया दिदै आफुले सबैको भावना जोडेर अघि बढ्न आग्रह गर्न खोज्दा खोज्दै मेयरले बोल्न नदिएको र आफै बैठक स्थगित गरेर हिडेको बताए ।

उनले भने, ‘यसरी झगडा गरेर हुदैन, मिलेर जानुपर्छ । संस्थागत कुरा गरौं, सबैको भावना जोडेर जाउ भन्न खोजेको थिए । बौल्न दिनुभएन र फेरि आफै उठेर हिड्नुभयो । उहाँले सबैलाई समेट्ने हो नि ।’