सुनसरी/  मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सर्वोच्च अदालतले गरेको फैसलाले न्याय मरेको छैन भन्ने प्रमाणित भएको बताएका छन् ।

आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै राज्यले १३ वर्ष शोषण गरेको र अहिले न्याय पाइएको बताए ।

“१३ वर्ष राज्यले शोषण गरेको थियो । अन्याय गरेको थियो । हामीले जनताको पैसा लगेर मेडिकल कलेज बनायौँ ।

हामीलाई १३ वर्षदेखि रुवाएर राखेको थियो,” उनले भने,  “सर्वोच्च अदालतले सम्बन्धन दिने आदेश गरेर न्याय मरेको छैन भन्ने कुरा फेरि प्रमाणित भएको छ ।”

त्यस्तै, उनले आफूले लाइन्सेस लिएको हतियारको पछि राज्य लागेको बताए । आफूले लिएको लाइसेन्समा देशभर जहाँ पनि लैजान पाइने लेखिएको स्पष्ट पारे ।

सवोच्च अदालतको गेटमा चेकजाँच गर्ने क्रममा हतियारसँगै पैसा समेत लगिएको प्रसाईंले बताए । “राज्य मेरो हतियारमा भुलेको छ ।

म गृहमन्त्रीलाई भन्न चाहन्छु, शोभा पाठकमाथि अन्याय परेको छ । न्याय दिनुस्,” उनले भने ।

उनले मेडिकल कलेजको सम्बन्धन पाएपछि बैंकको ऋण तिर्ने समेत बताए । “मैले ‘एफिलेसन’ उपहार पाएको होइन । संघर्ष  गरेर पाएको हो । एफिलेसन आयो ।

बैंकको पैसा तिर्छु । मैले बैंकको पैसा तिर्दिन कहिल्यै भनेको छैन ।

सात प्रतिशतको ब्याज किन १७ प्रतिशत बनाएको । गरिबको ऋण तिर्देउन सरकार पो भनेको,” प्रसाईंले भने । प्रसाईंले आफूलाई पक्राउ गरे पनि डर नभएको भन्दै पक्राउ गर्न चेतावनी दिए ।