इलाम/ इलाम क्षेत्र २ मा आउँदो १५ गते उपनिर्वाचन हुँदैछ । निर्वाचनको साताअघि इलाम सदरमुकामको चोकबजारमा बिहीबार ‘नो भोट’ भन्दै सयौंको भिडमा कार्यक्रम चलिरहेको छ ।

अभियानमा सहभागी हुन झापातिरबाट दर्जनौं सवारी साधनमा हुलका हुल मानिस आएका छन् ।

र, उनीहरूले भारतीय नम्बरका सवारी साधन ल्याएका छन् । उनीहरूले ल्याएका भारतीय सवारीमा नेपालको राष्टिूय झन्डा प्रयोग गरिएको छ ।

र, गाडीमा टाँसिएका प्लेक्समा लेखिएको छ, ‘धर्म, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियान ।’

निर्वाचन आचारसंहिता – २०७९ को परिच्छेद २ दफा ४ (थ)मा निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्नेगरी विचार राख्न, प्रचारप्रसार गर्न नपाइने व्यवस्था छ ।

निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्नेगरी विचार राख्न, प्रचारप्रसार गर्न नपाइने व्यवस्था छ ।

तर, इलाममा आउँदो निर्वाचनलाई प्रभाव पार्न आचारसंहिता विरुद्धको कार्यक्रम चलिरहेपनि प्रशासन मौन देखिएको छ ।

महाभियानमा आउनेले प्लेकार्डमा समेत ‘नो भोट’ लेखेको भेटिएको छ । 

झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेतृत्व गरेको धर्म, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियानको ब्यानरमा ‘नो भोट’को सभा चलिरहेको छ । 

त्यतिमात्र होइन, सभामा प्रसाईं आफैं सहभागी छन् भने उनको स्वागतका लागि ‘पञ्चकन्या’का नाममा बालबालिका प्रयोग गरिएको छ । 

जिल्ला प्रहरी प्रमुख एसपी वासुदेव खतिवडाले निर्वाचनविरोधी क्रियाकलापलाई कडाई गरिएको भन्दै निर्वाचनविरुद्ध कुनै कार्यक्रम हुन नदिने दाबी गरे ।