सुनसरी/  राती देखी नेपाल भारत सीमा सिल हुने भएको छ । इलाम निर्वाचन क्षेत्र दुईमा हुन लागेको उप निर्वाचनलाई लक्षित गरेर रती १२ बजे पछि नाका बन्द गरिने भएको हो ।

नेपालले नाका बन्द गर्नु पूर्व नै भारतले सीमा क्षेत्र सिल गरेको छ । भारतले मङ्गलवार साँझ ६ः १५ बजेदेखि शुक्रवार राति १२ बजेसम्मका लागि बोर्डर सिल गरेको जनाइएको छ ।

भारतको पश्चिम बङ्गाल राज्यस्थित दार्जिलिङ जिल्लामा वैशाख १४ गते लोक सभा चुनाव हुँदै छ ।

लोकसभा चुनावलाई लक्षित गरेर भारतीय पक्षले सीमा नाका सिल गरेको हो । इलामसँग सीमा जोडिएका सबै नाका सिल गरिएको जनाइएको छ ।

पशुपतिनगर सहित सन्दुकपुर, टंलु, मेघमा, कालपोखरी, तुम्लिङ, मानेभञ्ज्याङ, छब्बिसे लगायतका नाकाहरू बन्द गरिएको छ ।

नेपालमा समेत निर्वाचनका कारण नाका बन्द हुँदै आएका छन् ।

त्यस्तै भारतमा समेत निर्वाचन हुँदा प्रभावित हुने क्षेत्र बन्द गरिँदै आइएको छ । भारतको पश्चिम बङ्गाल राज्यमा नेपाली मिति अनुसार वैशाख ७ गते देखी १९ गते सम्म लोकसभा निर्वाचन हुँदै छ ।

भारतमा समेत सात चरणमा निर्वाचन जारी रहेको छ ।

वैशाख १५ गते हुने उपनिर्वाचनलाई लक्षित गरेर नेपाल सरकारले बुधवार राति १२ बजेदेखि ७२ घण्टाका लागि नेपाल भारत सीमा क्षेत्र सिल गर्ने भएको छ ।

सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर निर्वाचन सुरक्षा योजना अन्तर्गत सीमा नाका सिल गरिने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

उनका अनुसार विगतका चुनाव जस्तै गरेर नाका बन्द गरिएको हो ।