धरान/ विगत लामो समयदेखि धरानमा खानेपानीको चरम अभाव भएपछि आइतबार जनप्रतिनिधी सहित धरानका मेयर हर्कराज राईको कार्यकक्ष घेराउ गरेका छन् ।

दैनिक जीवन यापनका लागि चाहिने अति आवस्यकीय खानेपानीबाट धरानेहरु बञ्चित हुनु परेको भन्दै धरानका सर्वसाधारण सहित जनप्रतिनिधीले धरान उपमहानगरपालिकामा पुगेर मेयर राईको कार्यकक्ष घेराउ गरेका हुन् ।

धरानका अधिंकाश वडामा खानेपानी आपूर्ति नभएपछि  धरानको वडा नम्बर  १, २, ३ , १२ लगायतका सर्वसाधारण खानेपानी आपूर्ति गरिदिन माग गर्दै मेयरको कार्यकक्षमा घेराउ गर्न बाध्य भएको वडा  नम्बर १ का पूर्व वडाध्यक्ष रोशन अधिकारीले वताए । 

तीन वटा वडाका जनप्रतिनिधिहरु सहित पुगेका वडाबासीहरुले धारामा पानी आउन छोडेको ४ महिनाभन्दा बढी भइसकेको गुनासो गरेका छन् ।

वडा नं १ का  वडाध्यक्ष यज्ञमणी आचार्यले आफ्नो वडामा ४ महिनादेखि खानेपानीको हाहाकार भएको वताए  ।

वडाबासी मेयर साम्पाङको कार्यालय पुग्दा प्रहरी तैनाथ राखिएको थियो । सबै वडाबासीहरुलाई मेयर साम्पाङको कार्यकक्षमा प्रवेश गर्न पनि दिइएको थिएन ।

वडाका जनप्रतिनिधि र सिमित अगुवाहरुलाई मात्र कार्यकक्षमा प्रवेश दिइएको थियो । प्रहरीले मेयरको कार्यकक्ष बाहिरै रोकेपछि वडाबासीहरु आक्रोशित पनि भएका थिए ।

आक्रोश बढ्दै गएपछि मेयर साम्पाङ कार्यकक्ष बाहिर आएर संक्षिप्त कुराकानी गर्दै पानी पठाउने आश्वासन दिएपनि वडाबासीहरुले चित्त बुझाएका थिएनन् ।

हुने खानेले अहिले ट्यांकर मार्फत पानी खरिद गरेर प्रयोग गरे पनि आर्थिक अवस्था कमजोर भएकाहरुलाई भने पानीको समस्या अझ समस्या भएको छ । 

धारानमा पानी नआए पनि किनेर पानी खानेलाई समस्या नभए पनि आफूहरुलाई दैनिक जीवनयापनमा समस्या भएको सर्वसाधारणले गुनासो पोखेका थिए ।

घेराउमा पुगेकाहरु ज्नप्रतिनिधि, पूर्व जनप्रतिसँगै विगतमा खानेपानीको समस्या समाधान भन्दै चुनावमा होमिएका राजनीतिक दलहरु समेत रहेका थिए ।

विगत केही समयदेखि धारामा पानी नआएपछि आफूहरु बाध्य भएर मेयर राईलाई ध्यानाकर्षण गराउन आएको राजनीतिक दलका प्रतिनिधिहरुले बताएका छन् ।

दिनप्रतिदिन बढ्दै गएको अत्याधिक गर्मी, त्यसमाथि पानीको अभाव धरानेहरुको जीवनयापन अहिले कष्टकर बन्दै गएको छ ।

सर्दु,खर्दु, तामाखाम, निशाने खोला लगायत र भूमिगत पानीको स्रोतबाट धरानेहरुलाई खानेपानी आपूर्ति गर्ने गरिएको छ ।

अहिले खोलानाला सुक्नु, पानीको मुहान नै सुक्नु र भूमिगत पानी समत पर्याप्त वितरण गर्न नसक्दा धरानमा यो समस्या आएको हो ।

यद्यपि धरान खानेपानी बोर्डले दुईवटा ट्याकरबाट धरानमा पानी आपूर्ति गरेर सहज बनाउने प्रयास गरे पनि त्यो सम्भव हुन सकेको छैन ।

धरानमा दैनिक ३ करोड पानी प्रयोग हुने बोर्डले जानकारी दिए पनि अहिले मुस्किलले एक करोड पानी उत्पादन हुन सकेको् छैन ।