धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत सफाइ तथा सुरक्षा मजदुरहरु आन्दोलनमा उत्रने भएकोछ । नेपाल सुरक्षा श्रमिक टेर्‍ड युनियन र नेपाल सफाई कर्मचारी युनियनको संयुक्त बैठकले प्रतिष्ठान विरुद्ध संयुक्त आन्दोलन गर्ने निर्णय गरेको हो । 

सफाई, सुरक्षा र इलेक्ट्रिक श्रमिकहरुले प्रतिष्ठानबाट पाउँदै आएको स्वास्थ्य बिमा सेवा गत वर्ष साउनदेखि कटौती गरेको, श्रमिकहरुले पाउनु पर्ने तलब नियमित नपाएको र कपिय पुराना कम्पनीहरुबाट पाउनु पर्ने रकम नपाएको, राज्यले निर्धारण गरेर गत साउनदेखिनै श्रमिकहरुले पाउनुपर्ने न्युनतम ज्याला अहिलेसम्म नपाएको,

श्रम ऐन २०७४ ले व्यवस्था गरेका सेवा सुविधाहरु कार्यान्वयन नभएको, सामाजिक सुरक्षामा जम्मा गर्नु पर्ने रकम नियमित नभएका लगायतका विषयहरुको ध्यानाकर्षण गराउदै आन्दोलनको तयारी गरिएको हो । 

प्रतिष्ठानले बिमा सुधिान कटौती गरे लगतै उपकुलपति, रजिष्ट्रार लगायतका पदाधिकारीसंग कुराकानी गरि निरन्तरता दिन आग्रह गरेको भएपनि एक वर्षदेखि हाम्रो आवाजको सुनुवाइ नभएकाले आन्दोलनको तयारी गर्नुपरेको सफाइ तथा कर्मचारी युनियनका केन्द्रीय उपाध्यक्ष यामकला मग्राँतीले बताइन् । 

स्वास्थ्य बिमा सेवाबाट बन्चीत हुनुकासाथै केटीएम र यसअघिका भीआइपी सेक्युरिटी कम्पनीदेखिकै सुरक्षा मजदुरहरुले पाउने पैसा मजदुरहरुले नपाएको सुरक्षा श्रमिक ट्रेड युनियनका घोपा सचिव प्रविण राईले बताए । 

मजदुर नेता भीमज्वाला राईको प्रमुख आतिथ्यतामा भएको संयुक्त भेलामा प्रतिष्ठानमा विगतमा भएको आन्दोलन र तिनका उपलब्धिहरुको समक्षिा गरिएकोछ ।

नेपाल ट्रेड युनियन महासंघ राष्ट्रिय कमिटी सदस्य तथा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष राईले प्रतिष्ठान पदाधिकारीहरुसंग सम्बाद्को माध्यमबाट समस्याको समाधान खोजिने सुनुवाइ नभए अन्तिम विकल्पका रुपमा आन्दोलनमा उत्रनेगरी तयारी थालिएको बताए । 

भेलाले ज्ञापनपत्र लेखन, परिचालन टिम र संयुक्त आन्दोलन परिचालन कमिटी रहनेगरी तयारी थालिएको राईले बताए ।

भेलामा जिफन्ट धरान नगर अध्यक्ष शमशेर बर्देवा, सुरक्षा श्रमिक धरान नगर अध्यक्ष गोपी योगी लगायतका नेतृत्वको सहभागीता रहेको थियो ।