धरान/ पार्टी विभाजन पछि पहिचानको मुद्धा ओझेलमा परेको महसुस गर्दै जनता समाजवादी पार्टीभित्रकै केहीले पहिचानवादी मोर्चा गठन गरेर शशक्त रुपमा अगाडि बढ्ने भएका छन् । 

पार्टी नेतृत्वमा रहेका उपेन्द्र यादव र अशोक राई छुट्टिएपछि पहिचानको मुद्धालाई सशक्त बनाएर पार्टी लगायत अन्य पहिचानवादीहरुलाई एक ठाममा उभ्याएर सशक्त बनाउने उद्देश्य उनीहरुको छ ।

पहिचानको मुद्धालाई पेचिलो बनाउँदै आएको जनता समाजवादी पार्टी नेपाल गत वैसाख २३ गते विभाजन भएपछि नेतृत्वको सत्तालिप्सा र अवसरवादी सोचका कारण पहिचानको मुद्धा ओझेलमा परेको भन्दै वैसाख २७ गते पहिचानवादी मोर्चाका गठन भएको हो ।

जसपाभित्र रहेका पहिचानवादीमात्र हैन सबै पहिचानवादीहरुलाई समेटेर सशक्त अगाडि बढ्ने उनीहरुको दाबी छ ।

भविष्यमा पहिचानवादीहरुको शशक्त पार्टीको रुपमा उभिने र राष्ट्रिय पार्टी बनाउने उद्देश्य रहेको मोर्चाका केन्द्रीय सयोजक प्रा.डा. महेन्द्र लावतीले पत्रकार सम्मेलनमा बताए ।

पार्टी नेतृत्वको सत्ता लिप्सा र व्यक्तिगत स्वार्थका कारण पहिचानको मुद्धा ओझेलमा पर्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै भविष्यमा पहिचानका मुद्धालाई अगाडि बढाउन मोर्चा गठन गरिएको संयोजक प्रा.डा. लावतीले बताए ।

हरेक पार्टीले पहिचानको मुद्धालाई बोकेर हिडे पनि दरिलो रुपमा अगाडि बढाउन नसकेकोले पहिचानवादीका लागि छुट्टै मोर्चा आवश्यक रहेको उनल बताए ।

केन्द्रीय स्तरको मोर्चा भएपनि प्रदेशमा रहेका आन्दोलनमा भने घटकको रुपमा सरिक हुने बताइएको छ ।

पहिचानको मुद्धालाई तल्लो स्तरबाटै दरिलो बनाउन आवश्यक रहेको महसुस गरी प्रा.डा. लावतीको संयोजकत्वमा मोर्चा नै गठन गर्न बाध्य भएको लिम्बुवान प्रदेश समितिका तर्फबाट पहिचानवादी मोर्चामा संलग्न जेन्टल लावतीले बताए ।पहिचानको आन्दोलनमा विगतको भन्दा सफलता हासिल गरेको तर्क उनीहरुले राखेका थिए ।

विगतमा ६ -७ वटा पहिचानवादी दलहरु चुनावमा उठ्दा १ हजार मत कटाउन मुस्किल भएपनि इलाममा भएको उप निर्वाचनमा पहिचानको मुद्धा बोकर उठेका डेकेन्द्रसिह थेगिमले ११ हजार मत भन्दा बढी ल्याएर पहिचानवादी मुद्धालाई दरिलो बनाउन सकिने संकेत मिलेको उनीहरुको तर्क थियो । 

 पहिचानवादी मुद्धालाई अगाडि बढाउन पार्टीको नेतृत्वमा लाग्नेहरुले असहयेग गरेको  भन्दै पहिचानवादी शक्तिको उपस्थिति दरिलो देखाउन भएपनि  मोर्चा गठन गरिएको उनीहरुको तर्क थियो ।