धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सरसफाइ र सुरक्षा श्रमिकहरुले प्रतिष्ठानका पदाधिकारीहरुलाई ज्ञापनपत्र बुझाएका छन् ।

प्रतिष्ठानले कटौती गरेको हेल्थकार्ड सुविधालाई निरन्तरता गरिनुपर्ने, गत साउन देखि वृद्धि भएको न्युनतम पारिश्रमिक तत्काल पाउँनु पर्ने र बाँकी रहेको पुरानो तलब उपलब्ध गराउनु पर्ने माग राख्दै ज्ञापनपत्र बुझाइएको हो ।

नेपाल ट्रेड युनियन महासंघ जिफन्ट सम्बध नेपाल सुरक्षा श्रमिक ट्रेड युनियन र नेपाल सफाई कर्मचारी युनियनको तर्फबाट प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी, रजिष्ट्रार सूर्यप्रसाद संग्रौला, निर्देशक जगतनारायण प्रसाद साह र शिक्षाध्यक्ष डा.सञ्जीव शर्मालाई तीनबुँदे ज्ञापनपत्र बुझाइएको हो ।

जिफन्ट राष्ट्रिय कमिटी सदस्य तथा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले ज्ञापनपत्र हस्तान्तरण गर्दै प्रतिष्ठान स्थापनाकालदेखि सेवा गर्दै आइरहेका श्रमिकहरुलाई प्रतिष्ठानले सेवासुविधाहरु कटौती गरेर विभेद गरेको बताए ।

श्रमिकहरुको अधिकारका लागि जिफन्टले पटक पटकको आन्दोलन र सबैको सहयोगमा प्राप्त भएको हेल्थ कार्ड लगायतका उपलब्धीहरु क्रमशः खोसिदै गइरहेकाले श्रमिकहरुको समस्याको सम्बोधन नभए पुन आन्दोलन गरिने चेतावनी प्रतिष्ठानका पदाधिकारीहरु समक्ष राखेका थिए ।

वर्षौँदेखि श्रमिकहरुले उपयोग गर्दै आइरहेको हेल्थ कार्ड २०८० साउन १ गतेदेखि बन्द गरिँदा श्रमिकहरु र तिनको आश्रित परिवारमा गम्भिर असर परेकाले तत्काल निरन्तरता दिन ज्ञापनपत्रका उल्लेख गरिएको छ ।

त्यस्तै २०८० साल साउन १ गतेदेखि लागुहुने गरि न्युनतम पारिश्रमिकमा सरकारले वृद्धि गरेको २ हजा ३ सय तलव अहिलेसम्म श्रमिकहरुलाई नदिएर श्रमिकहरुको श्रमको शोषण गरिरहेकाले तत्काल बढेको रकम उपलब्ध गराउनु पर्ने उल्लेख छ ।

प्रतिष्ठानमा केटिएम सेक्युरिटी कम्पनीले ठेक्का सम्झौतामा काम गरेको समयमा मजदुरहरुले पाउनुपर्ने १ करोड ५६ लाख ३४ हजार ३ सय १३ रुपैया ३६ पैसा तलब लगायतका शिर्षकको पैसा श्रमिकहरुलाई उपलब्ध गराउन श्रम अदालतले फैसला गरेको करिव चार वर्ष हुनै लाग्दा मजदुरहरुले पैसा नपाएकोले केटिएम सेक्युरिटी कम्पनीलाई प्रतिष्ठानले भुक्तान गुर्नपर्ने रकम मध्येबाट कट्टा गरि पैसा उपलब्ध गराईनु पर्ने ज्ञापनपत्रमा उल्लेख छ ।

ज्ञापनपत्रमा भनिएको छ,प्रतिष्ठानले श्रमिकहरुको अनुरोधलाई तत्काल सम्बोधन नगरे परिस्थिति असहज हुने उल्लेख छ ।ज्ञापनपत्र ग्रहण गर्दै उपकुलपति डा. ज्ञानेन्द्र गिरीले श्रमिकहरुले आन्दोलन गर्न नपर्नेगरी तत्काल विषयहरुको सम्बोधन गरिने बताए ।

आफु उपकुलपति हुनु अघिका विषय भएकाले आफुलाई श्रमिकहरुको सेवा सुविधाहरु कटौती गरिएको बारेमा जानकारी नभएकाले समस्या लामो समय लम्बिएको हो हामी सबै जना छौं ,तत्काल यस विषयमा निर्णय गर्छौं गिरीले बताए ।

हेल्थकार्डका विषय कुरा राख्दै उपकुलपति गरिले सबै कर्मचारीहरुलाई विमाको दायरामा लाने प्रतिष्ठानको योजना छ,त्यो योजना कार्यान्वयन नभएसम्म तत्कालिन अवस्थाका लागि काटिएको हेल्थ कार्ड योजनालाई जोड्छौ उनले भने ।

केटीएम सेक्युरिटिका प्रमुखलाई हामीले पटक पटक बोलाएका छौं आउनु भएको छैन अब श्रम अदालतको फैसला र कानुनी क्षेत्राधिकार र परामर्श गरेर मजदुरको पैसा रोक्दैनौं र वृद्धि भएको तलब मजदुरहरुले पाउने व्यवस्था पनि तत्काल गछौं उपकुलपति गिरीले बताए ।

पदाधिकारीलाई ज्ञापनपत्र बुझाउन जिफन्टका नेता भीमज्वाला राई सहित सफाई कर्मचारी युनियनका केन्द्रीय उपाध्यक्ष यामकला मग्राती, धरान नगर अध्यक्ष गणेश योङहाङ, जिफन्ट धरान नगर अध्यक्ष शमशेर बर्देवा, सुरक्षा श्रमिक युनियनका अध्यक्ष जनक सुनुवार, उपाध्यक्ष रत्न नेम्वाङ, सचिव प्रविण राई नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सदस्य लक्ष्मी बानियाँ, सुरक्षा श्रमिक धरान नगर अध्यक्ष गोपी योगी लगायतका नेताहरु रहेका थिए ।1716200766081