मोरङ/ महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका विद्यार्थीहरुले विराटनगरमा सरकारी गाडीमा आगजनी र तोडफो गरेका छन् ।

आगजनी र तोडफोडबाट ६ वटा गाडीमा क्षति पुगेको छ । क्याम्पसको गेट नै अगाडि एउटा सरकारी गाडीमा आगजनी गरिएको छ ।

को १ झ ६४४ नम्बरको गाडीमा आगजनी गरिएको छ । आगो नियन्त्रणका लागि दमकल बोलाइएको प्रहरीले जनाएको छ ।

त्यस्तै, विराटनगरको कञ्चनजंघा पार्टी प्यालेसमा पार्किङ गरेर राखिएका ५ वटा गाडीमा तोडफोड गरिएको छ । पार्टी प्यालेसमा विद्युत प्राधिकरणको कार्यक्रम थियो ।

कार्यक्रमका लागि पुगेकाहरुले प्रयोग गरेका विद्युत प्राधिकरणको गाडीहरु तोडफोड गरिएको हो ।

प्रहरीका अनुसार बा एबी ८१८०, बागमती प्रदेश ०१–०० ञ २७०१, बा १ ञ २४१९, बा ००१ ञ २९९० र बा १ ञ १८८७ नम्बरको गाडीमा तोडफोड गरिएको छ ।

पर्खाल नाघेर पार्टी प्यालेसभित्र छिरेको अन्दाजी ९ जनाको समूह गाडी तोडफोड गरेर फरार भएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार सरकारी गाडीमा आगजनी र तोडफोड गर्ने खोजी भइरहेको छ ।

मोरङको रंगेलीमा पक्राउ परेका विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्ववियु (स्वतन्त्र विद्यार्थी युुनियन)र नेपाल विद्यार्थी संघ (नेविसंघ)का सदस्य दीपक यादवलगायतलाई विद्यार्थीलाई छाड्नुपर्ने लगायतका माग राखेर गाडीमा आगजनी र तोडफोड गरिएको हुनसक्ने प्रहरीको अनुमान छ । यद्यपि, यसको पुष्टि भइसकेको छ ।

स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय मोरङबाट डीएसपी वेदप्रकाश जोशी र वडा प्रहरी कार्यालय विराटनगरबाट डीएसपी बुद्द श्रेष्ठको नेतृत्वमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

प्रहरीले आगजनी एवं तोडफोडमा संलग्नलाई पहिचान गर्ने प्रयास गरिरहेको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले सरकारी गाडीमा आगजनी र तोडफोड गर्नुको कारण खुल्न बाँकी रहेको बताए ।

निजी विद्यालयले लिने शुल्क कम गर्नुपर्ने र शिक्षक नियुक्ति नियम अनुसार हुनुपर्ने माग राख्दै पुगेका विद्यार्थीहरुको समूहले रंगेली नगरपालिकाका कार्यवाहक मेयर र प्रमुख प्रशासकीय अधिकृतमाथि बिहीबार दुव्र्यवहार गरेको थियो ।

उक्त समूहको आक्रमणबाट ४ जना नगरप्रहरी घाइते भएका थिए । घटनामा संलग्न भएको भन्दै प्रहरीले यादवसहित ६ जनालाई पक्राउ गरेर अभद्र व्यवहार मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।

पक्राउ परेकालाई छाड्नुपर्ने माग राख्दै महेन्द्र मोरङ क्याम्पसका विद्यार्थीले यसअघि पनि विराटनगरमा प्रदर्शन गरेका थिए ।

गृहमन्त्री रवि लामिछानेसहित सुरक्षा प्रमुखहरु विराटनगरमै भएका बेला घटना भएको हो । आजबाट सुरु हुने दुई दिने राष्ट्रिय सुरक्षा गोष्ठीमा सहभागी हुन गृहमन्त्रीसहितका सुरक्षा अधिकारीहरु विराटनगर आएका हुन् ।


श्रोत : प्रदेश खबर