मोरंग / कोशी प्रदेशको प्रदेश विकास परिषद्मा १५ जना सदस्य मनोनीत भएका छन् ।२५ जेठमा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोग (गठन तथा कार्य सञ्चालन) आदेश, २०७५ को दफा ७ को उपदफा २ (छ) बमोजिम प्रदेश विकास परिषद् सदस्य मनोनीत गरेको हो ।
सरकारले झापा गौरादह–१ का जीतबहादुर कार्की, विराटनगरका उद्योगी महेशकुमार जाजु, नविन रिजाल, झापा दमककी राधीका ओझा, झापा हल्दीबारीका भवानीप्रसाद दंगाल, विराटनगरकी प्रतिभा रिजाल, विराटनगरकै उद्योगी प्रकाश मुन्दडा, संखुवासभाकी बबिता कटुवाल, काठमाडौंका सुयस प्याकुरेललाई मनोनीत गरेको छ ।
यस्तै उदयपुर त्रियुगाका रमेशचन्द्र रोका, बूढीगंगा मोरङकी रिता न्यौपाने, सुनसरीका भीमप्रसाद घिमिरे, विराटनगरकै राधा अधिकारी, सर्लाहीका एकचन्द्र बराल र विराटनगरकै टिकाराम पुरी मनोनीत भएका छन् ।
प्रदेश योजना आयोग (गठन तथा कार्य सञ्चालन) आदेश, २०७५ को दफा ७ मा परिषद् गठन सम्बन्धी व्यवस्था छ ।
उक्त दफा अनुसार परिषद्को अध्यक्ष मुख्यमन्त्री, प्रदेश सरकारका मन्त्रीहरू र राज्य मन्त्रीहरू, प्रदेश सभामा प्रतिनिधित्व गर्ने संसदीय दलका नेता, प्रदेश सभा समितिका सभापतिहरू, आयोगका उपाध्यक्ष तथा सदस्यहरू, प्रमुख सचिव, प्रदेश सरकार मुख्य न्यायाधिवक्ता, प्रदेश सरकारका सचिवहरू, जिल्ला समन्वय समिति र स्थानीय तहका प्रमुखहरू सदस्य रहने व्यवस्था छ ।