धरान /कानुनी प्रावधानलाई लिएर चुलिएको विवादका कारण धरान उपमहानगरपालिकाको विहीबार बस्ने भनिएको कार्यपालिका बैठक स्थगित भएको छ ।

स्थाीय सरकार सञ्चालन ऐन २०७४ कार्यविधि २०७४ ले निर्दिष्ट गरेको प्रावधानमाथि आ आफ्नो तर्क र बेतर्क प्रस्तुत गरेर पत्रकार वडाध्यक्ष र कार्यपालिका सदस्य, मेयर, उपमेयरले पालैपालो पत्रकार सम्मेलन गरेर समय बेकाममा फालेका थिए ।

धरान उपमहानगरपालिकका प्रमुख हर्कराज राईले आफैले हस्ताक्षर गरेर कार्यपालिका बैठक आवहान गरेपछि रुष्ट बनेका वडाध्यक्ष, कार्यपालिकाका सदस्यहरुले बुधबार धरानको गोरखा होटलमा पत्रकार सम्मेलको आयोजना गरी मेयर साम्पाडको कार्यशैली तानाशाही भएको आरोप लगाउदै कार्यपालिका बैठकमा नबस्ने अडान लिएका थिए ।

पत्रकार सम्मेलनमा बोल्दै धरान उपमहानगरपालिकाका प्रवक्ता एवम् १७ नं. वडा कार्यालयका वडाध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज) ले २००७ सालको राणाकालीन समय भन्दा अहिले धरान उपमहानगरपालिकामा मेयर राईले तानाशाह प्रवृत्ति लादेको आरोप लगाए ।

उनले भने–‘मेयर राईले प्रमुख प्रशासकीयको काम कारबाही आफै गर्ने, कर्मचारी हटाउने, सरुवा, बढुवा गर्ने, स्थानीय सरकार सञ्चालन ऐन२०७४ को कार्यविधि विपरीत प्रमुख प्रशासकीय अधिकृत विना वैठक आमन्त्रण गर्ने काम गरेकाले हामीले यसको विरोध गरेका हौ, लोकतन्त्रमा स्थानीय सरकार विधि र शासनबाट चल्नुपर्छ भन्ने हाम्रो मान्यता हो ।’

यस्तै उपमहानगरपालिकाका उपमेयर आइन्द्र विक्रम बेघाले समेत वडाध्यक्ष र कार्यपालिका सदस्यको अडानलाई समर्थन गर्दै धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक कक्षमा पत्रकार सम्मेलन गरेर मेयर राईको काम कारबाहीप्रति असन्तुष्ट व्यक्त गरेका थिए ।

उनले भने–‘सबै काम  आफैले हस्तक्षेप गरेर के गर्न खोजेको हो मेयर साहवले ? आ आफ्नो् काम कर्तव्य हुन्छ, जनप्रतिनिधिको आफ्नै हुन्छ, कर्मचारीको आफ्नै हुन्छ, सबैको अधिकार आफैले लिएर काम गर्ने हो भने उपमहानगरपालिकामा हाम्रो के काम छ ? भन्दै प्रश्न गरेका थिए ।

उनले धरान उपमहानगरपालिकामा अहिले प्रमुख प्रशासकीय अधिकृतको स्थान रिक्त भएको बताउदै उपमहानगरपालिकामा प्रशासकीय अधिकृतको काम सम्हाल्न कोही नआउने गरेको बताए ।

उनले भने–‘यहाँ सरकारले प्रशासकीय अधिकृत पठाउछ, एक दुई दिनभित्र नै धरान छोडेर हिड्छ, यसलाई कसरी लिनु ’ भन्दै पत्रकारलाई माथि नै जिज्ञासा पोखेका थिए ।

आ आफ्नो ढंगबाट पत्रकार सम्मेलनको आयोजना गरिरहँदा उता मेयर राईले पनि आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलनको आयोजना गरेका थिए । उनको अडान भने उपमेयर, वडाध्यक्ष र कार्यपालिका सदस्यको भन्दा फरक थियो ।

उनले स्थानीय सरकार सञ्चालन ऐन २०७४ मै कार्यपालिका बैठक बोलाउने अधिकार प्रमुख हुने भएकोले बेतर्कको विषय निकालेको बताए । उनले भने–‘ऐनमै वैठक बोलाउने अधिकार प्रमुखलाई छ, प्रमुखले बैठक बोलाउदा किन यस्तो आपत्ति, अनुहार मन परेन भन्दैमा ऐन नमान्ने हो त ? यसमा मेरो आपत्ति रहेको छ ।’

सबैले आ आफ्नो ढंगबाट पत्रकार सम्मेलनको आयोजना कानुनी व्याख्यासँग नजिक रहेर गरेका थिए ।

धरानको विकासलाई प्राथमिकता राखेर सबै मिलेर जानुपर्नेमा यस्ता साना तिना कुरामा अल्झिनु राम्रो नभएको धरानका बुद्धिजीविहरुको भनाई छ ।

धरान १४ का प्रा.डा. राजेन्द्र शर्माले स्वतन्त्रबाट जितेर काठमाण्डौ महानगरपालिका हाँकेका मेयर बालेन्द्र साहबाट सबैले पाठ सिक्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो–‘विकास निर्माण लगायत विविध कुरामा निर्णय गर्दा काठमाण्डौ उपमहानगरपालिकामा कहिल्यै विवाद हुदैन, राम्रो कामको लागि सबैले आ आफ्नो हठ त्याग गर्नुपर्छ, धरानको हकमा त्यो् देखिएन ।’

यस्तै भनाई सुनसरी उद्योग वाणिज्य संघका प्रतिनिधि सीताराम आचार्यको छ ।

जनताले जुन अपेक्षा गरेर अहिलेका जनप्रतिनिधिहरुलाई जिताएका थिए, जनप्रतिनिधिबीचमै सधैको वेमेलका कारण धरानका सर्वसाधारणमा समेत निराशा छाएको बताए ।

उनले भने–‘के के एजेण्डा लिएर निर्वाचित भएका थिए, जनतालाई के आश्वासन दिएका थिए, त्यतातिर नगएर साना साना कुरामा विवाद झिेकेर बखडा झिक्ने बाहेक धरानका जनप्रतिनिधिहरुको अर्को काम नै भएन , निर्वाचित भएर आएको दुई बर्ष वितिसक्यो, शुरुकै दिनदेखि विवाद विवादमै कार्यकाल सकिन लागिसक्यो, कसरी हुन्छ धरानको समृद्धि ?’