धरान/  शान्ति सुरक्षा कायम गर्नका लागि सबै मिलेर काम गर्नुपर्ने आवश्यकता रहेको धरानमा आयोजित एक कार्यक्रममा सहभागीहरुले बताएका छन् । 

सुनसरी उद्योग वाणिज्य संघ सुनसरी र राजस्व अनुसन्धान कार्यालय इटहरीले धरानमा आयोजना गरेको सुनसरीका नया प्रजिअलाई स्वागत तथा भिसीटिएस सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् ।

सो अवसरमा बोल्दै सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले सबै मिलेर जिल्लाको शान्ति सुरक्षा कायममा लाग्नुपर्ने बताए् ।

उनले कानुन कार्यान्वयन गर्ने काममा आफूले कुनै कुरामा कम्प्रमाइज नगर्ने बताए । उनले सुनसरी जिल्लालाई शान्ति सुव्यस्था कायम गर्न सबैले सहयोग गर्न आग्रह समेत गरे । सुनसरी उद्योग वाणिज्य संघ धरानको सभाहलमा आयोजित कार्यक्रममा प्रजिअ तिवारीले व्यवसायीहरुलाई स्वस्थ प्रतिष्पर्धा गर्न व्यवसायीहरुलाई आग्रह गरे ।

उनले गुणस्तरीय उत्पादन गर्दै रोजगारी सिर्जना गरेर व्यवसायी गर्ने भन्दा पनि छिटो कमाउने नाममा व्यवसायीहरु अग्रसर भएका कारण व्यवसायमा समस्या भएको बताए । उनले इमान्दारपूर्वक व्यवसाय गर्नेहरुलाई कसैले कतैबाट तनाव दिने काम भएको खण्डमा व्यवसायिक सुरक्षाका लागि आफू तत्पर रहने बताए ।

यता सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले अहिलेको विषम परिस्थितिमा व्यवसायीहरुलाई निर्धक्क व्यवसायी गर्न अफ्ठयारो परेको बताए ।

उनले राज्यको सहयोग व्यवसायमा न्यून भएको गुनासो पोख्दै अहिले व्यवसायीहरु करको दायरामा रहेर व्यवसायिकरुपमा व्यवसाय गर्नेहरु बढ्दै गएको बताए । उनले सुरक्षित ढंगबाट व्यवसायीहरुलाई व्यवसाय गर्ने वातावरण तयार पारिदिन प्रजिअ समक्ष आग्रह समेत गरे ।

कार्यक्रममा आन्तरिक राजस्व कार्यालय धरानका प्रमुख बुद्धिप्रसाद आचार्य, इलाका प्रहरी कार्यालय धरानका डिएसपी मानबहादुर राई, जिल्ला टूाफिक प्रहरी कार्यालय सुनसरीका प्रतिनिधि, सशस्त्र प्रहरी वेस क्याम्प प्रहरी निरिक्षक. रामप्रसाद विक, राजस्व अनुसन्धान कार्यालय  इटहरीका प्रमुख मणि काफ्लेले समेत जिल्लामा शान्ति सुरक्षासँगै व्यवसायिक सुरक्षाको विषयमा कुरा राखेका थिए ।