धरान/ धरान १३ स्थित अमरबस्तीमा रहेको खहरे खोलामा लगाइएको व्याविङ जाली मेयर हर्कराज राई राईले भत्काएपछि विवाद चुलिदै गएपछि यस विषयमा प्रशासनको समेत ध्यानार्कण भएको छ ।

प्रशासनले विहीबार ग्याविङ जाली लगाएकै ठाउँमा गएर अनुगमन समेत गरेको छ । 

विहीबार सुनसरीका जिल्लाका  निमित्त प्रजिअ एवम प्रवक्ता बेदराज फुयालको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मी, सशस्त्र प्रहरी उपरिक्षक समयनन्द्र बज्रचार्य, राष्ट्रिय अनुसन्धान कार्यालय सुनसरीका प्रमुख तुलसी कट्टेल  लगायतको टोलीले विवाद भएकै ठाउँमा गएर वास्तविकता बुझेको छ ।

निमित्त प्रजिअ फुयालले विवाद हुनुको प्रमुख कारण बुझेर समस्या समधान गर्ने उद्देश्यले अनुगमन गरिएको बताए ।

उनले भने–‘ग्याविक जाली लगाएको ८७ मिटरमध्ये ३० मिटर भत्काइएको पाइएको छ, यस विषयमा विस्तृत बुझ्ने काम भइरहेको छ । वास्तविकता बुझेर यसको समाधान गर्ने तर्फ हामी लागेका छौ ।’

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरिक्षक विपिन रेग्मीले विवादको वास्तविकता बुझेर समाधान गर्ने अभिप्रायले १३ को अमरबस्ती (क) को खहरे खोलामै पुगेर अनुगमन गरिएको बताए ।

उनले भने–‘लगाइएको ग्याविक तारको  किन विवाद भयो भन्ने बुझ्नकै लागि र यसको समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा बुझ्नकै लागि हामीले अनुगमन गरेका हौं ।’

विवादको वास्तविकता

खोलामा लगाइएको ग्याविङ तार लगाइएको मेयर हर्कराज राईले वडाध्यक्षसँग समन्वय नगरी भत्काउन निर्देशन दिएपछि विवाद चर्किएको थियो । 

मेयर साम्पाङको निर्देशनमा नगर प्रहरी लगाएर ग्याविङ जाली भत्काइएको थियो । त्यसमा केही असन्तुष्ट सर्वसाधारयणले समेत साथ दिएका थिए । मेयर राईले भत्काउन खोज्दा वडाध्यक्ष काफ्लेले रोक्ने प्रयास गर्दा द्धन्द चर्किएको थियो । 

प्रदेश सरकारको बजेटमा बनेको संरचना  नगरपालिकाको स्वीकृति बिना बनाइएको भन्दै भत्काइएको मेयर राईले बताउदै आएका छन् । नगरप्रहरी लगाएर तारजाली भत्काएपछि रुष्ट बनेका वडाध्यक्ष काफ्लेले सार्वजनिक सम्पत्ति तोडफोड  गर्नु जायज नभएको बताउदै आएका थिए । 

मेयर साम्पाङ विरुद्ध उजुरी

सार्वजनिक सम्पत्तिमाथि मेयर साम्पाङले नगरप्रहरी लगाएर जबरजस्ती भत्काएको भन्दै मेयर विरुद्ध नै उजुरी परेको थियो ।

धरान उपमहानगरपालिका–१३ को अमर बस्तीको खहरेखोला नियन्त्रण गर्न लगाइएको भत्काइएको भन्दै नगरप्रमुख सहित नगर प्रहरी सहायक निरीक्षक सुरेश मंग्राती, राजकुमार राई, पारस राई, पारु राई लगायतका विरुद्ध जिल्ला प्रशासन कार्यालयमा वडा नं. १३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले उजुरी दिएका थिए ।

उनले जबरजस्ती सार्वजनिक सम्पत्ति नष्ट गरेको भन्दै कारबाहीको माग गरेका थिए । वडाध्यक्ष काफेललाई खहरे खोला नियन्त्रण उपभोक्त समितिका अध्यक्ष राजु राईले समेत साथ दिएका थिए । 

खहरे खोलाले बर्सेनि क्षति गर्न थालेपछि जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय कोसी प्रदेशबाट २० लाख खर्च विनियोजन गरेको थियो । सोही बजेटबाट खहरे खोलामा तारजाली लगाइएको थियो ।