धरान/  लामो विवादपछि धरान उपमहानगरपालिकाले नयाँ आर्थिक वर्षको बजेट बल्ल विनियोजन गरेको छ । 

आइतबार साँझ १५ औं नगर सभा मार्फत  २०८१/०८२ को लागी १ अर्ब ८९ करोड ४३ लाख ४८ हजार २ सय ८० को बजेट विनियोजन गरेको हो ।

सभामा उपमेयर अईन्द्र विक्रम बेघाले बजेट नीति तथा कार्यक्रम प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कुल बजेटमा ४२ करोड ९७ लाख ६ हजार आन्तरिक स्रोत आय अनुमान गरिएको छ  । 

आर्थिक वर्षका ०८१/८२ लागि आन्तरिक  राजश्व बाट ४८ करोड ४१ लाख ३४ हजार २८०, सङ्घीय सरकार अनुदानबाट ८९ करोड १९ लाख, प्रदेश सरकार अनुदान ६ करोड ४० लाख ६४ हजार सघीय राजश्व बाँडफाँडबाट २१ करोड ३४ लाख  प्रदेश राजश्व बाँडफाँडबाट २४ करोड ८ लाख ५० हजार प्राप्त हुने अनुमान गरिएको छ ।

उक्त अनुमान मध्ये २० वटै वडा तर्फ २१ करोड  तथा सम्झौता तथा कार्यक्रम सम्पन्न भई भुक्तानी  हुन नसकेको क्रमागत आयोजनका लागि ३ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

बजेटमा विषयगत तर्फ सहरी योजना तथा भौतिक पूर्वाधार विकासमा ४५ करोड ८२ लाख २९ हजार, शिक्षा युवा तथा खेलकुदमा ४६ करोड २६ लाख ९५ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

स्वास्थ्यमा ८ करोड ३ लाख ८४ हजार, सामाजिक विकासमा ४ करोड ४१ लाख, आर्थिक विकासमा १ करोड ८४ लाख ९४ हजार, वन वातावरण ऊर्जा तथा  विपद् व्यवस्थापनमा १ करोड ४० लाख, पर्यटनमा ९० लाख ५० हजार विनियोजन गरिएको छ ।

सूचना तथा सञ्चारमा २५ लाख ५० हजार, कानुन तथा न्याय सम्पादनमा १० लाख, सार्वजनिक जग्गा संरक्षणमा २० लाख , राजश्व परिचालनमा २३ लाख, वडा पूर्वाधार निर्माण कार्यक्रममा २५ करोड ७० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

मेयर र उपमेयर  कोषमा कति ?

नगरसभा मार्फत मेयर भिजन कार्यक्रम र उपमेयर भिजन कार्यक्रम भने वजेट विनियोजन गरिएको छ ।

यो विगतका वर्षमा मेयर कोष र उप मेयर कोष भनेर बजेट विनियोजना हुने गरेको थियो । तर यो पाली भने भिजन कार्यक्रम भनिएको छ ।

जुन मेयर र उपमेयरको तजबीजमा  खर्च हुने वजेट हो । मेयरको लागि  ५ करोड, उपमेयर भिजन कार्यक्रममा ३ करोड रुपैयाँ विनियोजन गरेको छ । 

मेयर कोषमा १ करोड ८० लाख, उपमेयर कोषमा ७५ लाख रहेको छ ।