धरान/  खानेपानीको शुल्क बृद्धिको आन्दोलनमा होमिएका धरानका दश दललाई इमान्दार भएर आन्दोलन गर्न र आन्दोलनलाई निर्णायक मोडमा पुर्‍याउन धरानका सर्वसाधारणले आग्रह गरेका छन् ।

दोस्रो चरणको आन्दोलनको घोषणा गरेका दलहरुको पहिलो कार्यक्रम अन्तर्गत विहीबार  सुनसरी उद्योग वाणिज्य संघमा आयोजित दल  तथा सरोकारवाला पक्षबीच भएको अन्तरक्रिया कार्यक्रमका समयमा दलहरुलाई सर्वसाधारणले यस्तो आग्रह गरेका हुन् ।

सर्वसाधारणको तर्फबाट बोल्दै महेश श्रेष्ठले दलहरुको आन्दोलनमा सर्वसाधारणलाई विश्वास हुने वातावरण तयार गरेर सबैलाई आन्दोलनमा ल्याउन उत्प्रेरित गर्ने खालका कार्यक्रम अगाडि सार्न दलहरुलाई आग्रह गरे । उनले भने, महसुल वृद्धिको आन्दोलन जायज छ, तर सरोकारपक्ष तथा सर्वसाधारणले समेत यो आन्दोलनमा समर्थन जनाउन आवश्यक छ । यसको लागि दलहरुले विश्वासको वातावरण तयार पार्न आवश्यक छ ।’

उनले बृद्धि भएको महसुल नतिर्ने सर्वसाधारणलाई आहवान गर्दै आन्दोलनमा आउने वातावरण तयार पार्ने काम दलहरुले गर्नुपर्नेमा जोड दिए ।

उनले भने–‘दलहरुले सर्वसाधारणमा विश्वासको वातावरण तयार पारेर आन्दोलनमा आउने वातावरण मिलाउनुपर्छ, आन्दोलनका समयमा नतिरेको महसुल छुट गराउन सक्नुपर्छ, त्यति गर्न नसके यो आन्दोलनको औचित्य नै रहँदैन ।’

सुनसरी उद्योग वाणिज्य सघका पूर्व अध्यक्ष पवन अग्रवालको भनाई पनि श्रेष्ठकै जस्तै थियो ।

उनले समेत दलहरुले सर्वसाधारणलाई  विश्वासको वातावरण तयार पारेर आन्दोलनमा सरिक हुने वातावरण मिलाउनुपर्नेमा जोड दिए ।

उनले भने–‘विगतमा दलहरुकै अविश्वासका कारण स्वतन्त्र उमेद्वार हर्कराज राईलाई धरानेहरुले जिताएका हुन्, अझै पनि विश्वासको वातावरण तयार पार्न दलहरुले धेरै कोसिस गर्नुपर्छ, सर्वसाधारण उपभोक्ताहरुलाई पनि आन्दोलनमा सँगै लग्नुपर्छ ।’

महसुल घटाउने आन्दोल आम सर्वसाधारणको सरोकारको विषय भएकोले धरानका सबै उपभोक्ताहरुले साथ दिनुपर्नेमा जोड दिए ।

यस्तै होटल एसोसिएसन धरानका अध्यक्ष सरोज भट्टराईले बढाइएको महसुलले धरानका होटल व्यवसायी धेरै मारमा परेको बताए ।

उनले भने–‘बढाएको महसुल पनि तिर्नुपर्ने र सुख्खा मौसममा ट्यांकरबाट पनि पानी ल्याएर होटलमा आएकाहरुलाई उपलब्ध गराउनुपर्ने गर्दा धरानमा होटल सञ्चालन गरेर बस्नै नसक्ने अवस्था नै हुदैन, व्यवसायी नै छोडेर बस्नुपर्ने अवस्था आउँछ ।’

सो अवसरमा बोल्दैै धरान उपमहानगरपालिकाका पूर्व मेयर मनोज मेन्याङ्बोले दलहरुको लाचारीपनको विषयमा टिप्पणी गरेका थिए ।

उनले दलहरुलाई मेयर राईले जथाभावि बोल्दा पनि चुप लागेर बसेका कारण अहिलेको अवस्था सिर्जना  भएको बताए । उनले भने–‘दलहरुलाई झोले, भ्रष्टाचारी, निकम्बा जस्ता शब्द प्रयोग गरेर राईले सामाजिक सञ्जालमा स्टाटस लेखिरहँदा पनि रमिते भएर बसिरहने ? के तपाईहरु झोले नै हो, भ्रष्टाचारी नै हो अनि निकम्बा नै हो ?’ हैन भने यस्ता कुरालाई चिर्नुपर्ने बताए ।

यस्तै पूर्व प्रमुख तिलक राईले बोर्डको पदाधिकारीको वैधानिकताको विषयमा अदालतमा मुद्धा विचराधीन अवस्थामा रहेका बेला बढाइएको महसुल कानुनी रुपमा समे्त वैध नहुने बताए ।

उनले भने–‘बोर्डका पदाधिकारीका विषयमा अदालतमा मुद्धा विचाराधीन अवस्थामा छ, यस्तो अवस्थामा महसुल बढाउनु कानुनी रुपमा पनि जाजय हैन ।’

उनले विगतमा आइडिपीको प्रोजेक्टमा भ्रष्टाचार रहेको, पूर्व मेयरहरुले मनपरी गरेको मेयर राईले आरोप लगाइरहँदा आफूहरुले यसलाई प्रमाणित गर्न उपमहानगरपालिकामै डेलिकेशन गएको तीन महिनाभन्दा बढी भइसक्दा पनि प्रमाणित गर्न नसकेको बताए ।

उनले भने–‘अरुलाई आरोप लगाइरहँदा त्यो कुरा प्रमाणित हुनुपरेन, खैत प्रमाणित गरेको ? तीन महिना भइसक्यो त ।’

सो अवसरमा आन्दो्लनमा होमिएका दलका तर्फबाट नेपाली काँग्रेस धरान नगर समितिका सभापति श्याम पोखे्रलले यो आन्दोलनलाई निर्णयक मोडमा पु¥याउने विश्वास व्यक्त गरेका थिए ।

उनले भने–‘हामी पहिलोचरणको आन्दोलन सकेर दोस्रो चरणमा होमिएका छौ, हामीले दिएको ७२ घण्टे अल्मिेटम सकिएपछि दोस्रो् चरणको कार्यक्रम अन्तर्गत आज अन्तरक्रिया कार्यक्रमको आयोजना गरेका हौ, असार २० गते हामी अझ सशक्त आन्दोलन चर्काउदै छौ, धरान २ सिहदेवीबाट विशाल ¥यालीसहित खानेपानी बोर्ड घेराउ गर्छौ त्यति गर्दा पनि माग पूरा नभए अझ कडा आन्दोलनमा हामी जान्छौ ।’

अन्तरक्रिया कार्यक्रममा कोशी प्रदेशका पूर्व सभामुख प्रदीप भण्डारी, व्यापारी तथा व्यवसायीहरुले महसुल घटाएर सर्वसाधारणको जनजीवन सहज बनाउन आग्रह गरेका थिए ।

धरान खानेपानी बोर्डले साउन १ गतेदेखि लागू हुने गरी नयाँ धारा जडानमा न्युनतम ३३ देखि ३ सय प्रतिशतसम्म, होल चेञ्ज १ सय ५० देखि २सय ८० प्रतिशतसम्म, नामसारी मृतकबाट २ हजार ४ सय  प्रतिशतदेखि ९ हजार ९सय प्रतिशतस,  मर्मत तथा चेकमा १ सय प्रतिशतदेखि १हजार ९् सय  प्रतिशतसम्म, महशुल ११ देखि २ प्रतिशत प्रतिशतसम्म वृद्धि गरेको छ ।

  यसैगरि, निवेदन दस्तुर ४ सय प्रतिशत र जलाधार संरक्षण शुल्क नयाँ थप गरेको छ ।

बढेको शुल्क साविकै बनाउनुपर्ने माग राख्दै  नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र जनता समाजवादी पार्टी नेपाल नेकपा (एकीकृत समाजवादी) राष्ट्रिय स्वतन्त्र पार्टी,  नागरिक उन्मुक्ति पाटी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्च र राष्ट्रिय साझा पार्टी चरणबद्ध आन्दोलमा होमिएको छ ।