काठमाडौं/ नेकपा (एमाले)बाट २०७८ भाद्र २ गते चोटिएर माधवकुमार नेपालको नेतृत्वमा गठन भएको नेकपा (एकीकृत समाजवादी) पार्टी विभाजनको संघारमा पुगेको छ ।

१० औं राष्ट्रिय महाविधेशनपछि पार्टीभित्र बढेको आन्तरिक असन्तुष्टी र किचलोको कारण एकीकृत समाजवादी विभाजनको अवस्थामा पुगेको हो ।

अध्यक्ष नेपाल सहित पूर्व अध्यक्ष तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल मिलेर २०७८ भाद्र २ गते नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) गठन गरेका थिए भने २०७८ भाद्र ९ गते निर्वाचन आयोगबाट प्रमाण पत्र प्राप्त गरेका थिए । 

यही पार्टी स्थापनाको छोटो समयमा नै आन्तरिक समस्यामा फसेको छ । यस्तो समस्या जुन समस्याले विभाजन तर्फ उन्मुख भएको पदाधिकारीमा पराजित एक नेताले बताए । भने, ‘अब पार्टी एक ढिक्का भएर अघि जाने सम्भावना असाध्यै कमजोर बन्यो ।’

नेकपा (एकीकृत समाजवादी) १० औं राष्ट्रिय महाधिवेशन (असार १६–२०) मा गरेको थियो । १ हजार ८५३ प्रतिनिधि उपस्थित अधिवेशनले तीन जना बाहेक पदाधिकारी चयन गर्न सकेन ।

तिव्र असन्तुष्टी र आक्रोश बोकेर प्रतिनिधि घर फर्किए । महाधिवेशनको हलबाट अध्यक्ष नेपाल, सम्मानित नेता खनाल र महासचिव भूसाल सर्वसम्मत भएका थिए ।

अन्य पदाधिकारी र केन्द्रीय सदस्य टुंग्याउने जिम्मा यी तीन जनाले पाए । गत २२ असारमै ९३ जना केन्द्रीय सदस्यको सूची सार्वजनिक गरियो ।

निकै रस्साकस्सीपछि २५१ जना केन्द्रीय सदस्यको नामावली गत १८ साउनमा सार्वजनिक गरिएको थियो ।यसरी आन्तरिक किचलोको विचमा चयन भएको ३४४ सदस्यीय केन्द्रीय समितिको बैठक ९ भदौदेखि ११ सम्म काठमाडौंमा बोलायो । यो बैठकबाट पदाधिकारी, स्थायी समिति र पोलिटब्यूरो गठन गर्ने कार्यसूची थियो ।

१८ पदाधिकारी र पोलिटब्युरो सदस्य सर्बसम्मत रुपमा चयनको दबाब थियो । आन्तरिक समस्या बढ्दै गएपछि ११ भदौमा केन्द्रीय सदस्यहरुको विचमा मतदान गरियो ।

जसमा वरिष्ठ उपाध्यक्ष सहित ७ उपाध्यक्ष, चार उपमहासचिव र ७ सचिव चयन भयो । आकांक्षीको संख्या धेरै भएकाले मतदानबाटै टुंग्याउने मनसाय अध्यक्ष नेपालले देखाएपछि चुनाव भएको एक पदाधिकारीको भनाई छ ।  जसअन्तर्गत खुला उपाध्यक्षमा डा. गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, भानुभक्त जोशी र प्रकाश ज्वाला विजयी भए । 

महिला उपाध्यक्षमा जयन्ती राई र मधेशी उपाध्यक्षमा धर्मनाथप्रसाद साह विजयी भएका छन् । उपाध्यक्ष खुला चारजनाका लागि ११ जना प्रतिस्पर्धामा थिए ।

ललितबहादुर बस्नेत, डा। गंगालाल तुलाधर, भानुभक्त जोशी, उर्वादत्त पन्त, साध्यबहादुर भण्डारी, प्रकाश ज्वाला, डा. विजयकुमार पौडेल, केशवलाल श्रेष्ठ, विरोध खतिवडा, जगन्नाथ खतिवडा र बलराम बास्कोटा खुला उपाध्यक्षको प्रतिस्पर्धामा थिए ।

उपाध्यक्ष महिलाबाट एकजनाका लागि जयन्ती राई र रामकुमारी झाँक्री प्रतिस्पर्धामा थिए । उपाध्यक्ष मधेशी समुदायबाट एकजनाका लागि धर्मनाथप्रसाद साह र रामचन्द्र झा प्रतिस्पर्धामा थिए । उपमहासचिवमा मेटमणि चौधरी, रामकुमार भट्टराई, राजेन्द्र राई र गरिमा शाह विजयी भएका छन् ।

उपमहासचिव चारजनाका लागि १९ जना चुनावी मैदानमा थिए । लक्ष्मण केसी, रामचन्द्र यादव, रामकुमार भट्टराई, महेश रेग्मी, डा. देउमान सम्बाहाङ्फे, नागेन्द्र चौधरी, मेटमणि चौधरी, अम्बरबहादुर थापा, राजेन्द्र राई, लक्ष्मण पौडेल, शत्रुधन महतो, गरिमा शाह, हरिप्रसाद पराजुली, श्रीप्रसाद साह, जीवनराम श्रेष्ठ, मीना ज्ञवाली, भविसोर पराजुली, गोमा विष्ट र भवानी खड्का प्रतिस्पर्धामा थिए।


सचिवमा गणेश विश्वकर्मा, बलदेव चौधरी, श्रीनाथ बराल, सावित्रा भुसाल, शेरबहादुर कुँवर, सोमप्रसाद पाण्डेय र चन्द्रबहादुर शाही विजयी भएका छन् ।

सचिव दलित समुदायबाट एकजनाका लागि तीनजना प्रतिस्पर्धामा थिए ।  गणेश विश्वकर्मा, निरादेवी जैरू र कृष्णबहादुर नेपाली प्रतिस्पर्धामा थिए । सचिव आदिवासी जनजाति समुदायबाट एकजनाका लागि तीनजना प्रतिस्पर्धामा थिए । बलदेव चौधरी, राजन राई र टोकबहादुर वाइबा प्रतिस्पर्धामा थिए । सचिव खुलाबाट पाँचजनाका लागि २६ जना प्रतिस्पर्धामा थिए ।

श्रीनाथ बराल, प्रेमलकुमार खनाल, कृष्णप्रसाद खनाल, घनप्रसाद गौतम, धर्मराज पौडेल, डा. वंशीधर मिश्र, धर्मराज निरौला, शेरबहादुर कुँवर, डा। राजेन्द्रमान श्रेष्ठ, दामोदर अर्याल, शिवबहादुर भण्डारी, चन्द्रबहादुर शाही, रामेश्वर श्रेष्ठ, सोमप्रसाद पाण्डेय, भाष्कर काफ्ले, सावित्रा भुसाल, दिलु पन्त, नरेश शाही, दीर्घ सोडारी, केशव विष्ट, शेरबहादुर केसी, धनराज आचार्य, रत्नेश्वर गोइत यादव, हस्तबहादुर शाही, गुरुप्रसाद बुर्लाकोटी र विदुर सापकोटा प्रतिस्पर्धामा थिए ।

यही मतदानपछि सुरु भएको विवाद अहिले उत्कर्षमा छ । 

११ भदौमा केन्द्रीय सदस्यहरुको विचमा मतदानबाट पराजित र विजयीहरुको दोहोरो दबाबमा परेका छन्, माधव नेपाल । पराजितहरुले पोलटिव्युरो र पदाधिकारी खारेजीको माग राखेका छन् । मतदानबाट विजयीहरुले कुनै पनि हालतमा यसो गर्न नहुने अडान लिएका छन् ।

दुबै पक्षसँग श्रृखलाबद्ध संवाद गरीरहेका अध्यक्ष नेपालले बिचको समधानको बाटो खोजेपनि असन्तुष्ट पक्षहरुको अडानले समाजवादी विभाजनको डिलमा पुगेको एक पदाधिकारीले बताए ।