विराटनगर/ कोशी प्रदेशमा नेपाली कांग्रेसका नेता भूपेन्द्र राईले २ वटा मन्त्रालयको जिम्मेवारी पाएका छन् । यसअघि एउटा मात्रै मन्त्रालयको जिम्मेवारीमा थिए ।

नेपाली कांग्रेसभित्रको आन्तरिक विवादका कारण डा. शेखर कोइरालाले मन्त्रीको नाम नपठाएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कांग्रेसको भागमा परेको मन्त्रालय कांग्रेसकै मन्त्रीलाई जिम्मा लगाएका हुन् । 

मुख्यमन्त्री कार्कीले कांग्रेसको भागमा परेको स्वास्थ्य मन्त्रालय कांग्रेसबाट सरकारको नेतृत्व गरेका भौतिक पूर्वाधार विकासमन्त्री भुपेन्द्र राईलाई बिहीबार दिएका छन् ।

राईले अब प्रदेशको भौतिक पूर्वाधार विकास र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् । यसअघि उनी भौतिक पूर्वाधार विकासमन्त्री मात्रै थिए ।

‘स्वास्थ्य मन्त्रालय पनि कांग्रेसको भागमा परेका कारण सरसल्लाहमै उहाँहरूलाई जिम्मेवारी दिएको हो,’ मुख्यमन्त्री कार्कीले भने,‘ यति भएपछि सरकारले पूर्णता पनि पायो ।’

मुख्यमन्त्रीनिकट स्रोतका डाक्टर शेखर कोइराला समूहले गुनासो गरेपछि कांग्रेसको भागको मन्त्री कांग्रेसलाई नै जिम्मा लगाइएको हो । ‘उहाँहरूले नाम पठाउन सक्नु भएन ।

नपठाएपछि अर्काको भागको मन्त्रालय धेरै समय किन राख्नु । आन्तरिक भागबन्डाको विषय अब उहाँहरूले नै मिलाउनुहुन्छ,’ स्रोतले भन्यो । 

गत असार तेस्रो साता कांग्रेस र नेकपा (एमाले)को नयाँ समीकरण बनेपछि कोशीमा एमालेले मुख्यमन्त्रीसहित ५ र कांग्रेसले ४ मन्त्री तथा २ राज्यमन्त्री पाउने सहमति भएको थियो ।

पार्टीको भागमा परेको ४ मध्ये २ मन्त्रालयमा डाक्टर शेखर कोइरालाले दाबी गरे ।  एउटा मन्त्री र एउटा राज्यमन्त्री दिन सभापति शेरबहादुर देउवा तयार भएपनि कोइराला समूहले नाम पठाएन ।

कोइराला समूहले नाम नपठाएपछि गत भदौ २८ गते कांग्रेसबाट ३ जना मन्त्री बनेका थिए ।

डेढ महिनासम्म कोइराला समूहले नाम नपठाएपछि एमालेबाट मुख्यमन्त्री बनेका कार्कीले सम्हाल्दै आएको मन्त्रालय कांग्रेसलाई नै जिम्मा लगाइएको हो ।

स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी पाएका राईले कांग्रेसको भागमा परेका कारण मुख्यमन्त्रीले जिम्मेवारी दिएको बताए ।