इटहरी/इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलको विवादास्पद सामाजिक सञ्जाल पोस्टप्रति आक्रोशित बनेका सुनसरीका पत्रकारहरू आन्दोलित भएका छन्।
नेपाल पत्रकार महासंघ, सुनसरीले पत्रकारितामाथि लाञ्छना लगाउने अभिव्यक्तिको कडा विरोध गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।
गत शुक्रबार बिहान मेयर पौडेलले आफ्नो आधिकारिक फेसबुक पेजमा कुनै प्रमाणबिना लेख्दै इटहरीको समग्र पत्रकारितामाथि प्रश्न उठाएका थिए। उनले लेखेका थिए, “भोलि कुन विषयमा समाचार आउँछ अघिल्लो दिन नै थाहा हुन्छ, पहिले हाम्रो सचिवालयमा पठाउँछन्, केही झर्दैन दानापानी, अनि लाजले प्रकाशन–प्रसारण गर्छन्। विचित्रको पत्रकारिता छ इटहरीमा।”
पौडेलको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै महासंघले पत्रकारिताको स्वतन्त्रता र मर्यादामा हमला भएको आरोप लगाएको छ। महासंघका अध्यक्ष सन्तोष काफ्लेको नेतृत्वमा बुधबार नगरप्रमुखलाई ज्ञापन पत्र बुझाइएको छ। ज्ञापनमा आरोप पुष्टि गर्न वा क्षमा याचना गर्न चेतावनी दिइएको छ।
संयुक्त आन्दोलनको तयारी
महासंघले बिहीबार(आज) इटहरीमा अग्रज र क्रियाशील पत्रकारहरूको भेला आयोजना गर्दै आन्दोलनलाई थप सशक्त बनाउने कार्यक्रम तय गरेको छ। पत्रकार महासंघका अनुसार अबका चरणमा निम्न कार्यक्रमहरू सञ्चालन गरिनेछ:
- राजनीतिक दल, नागरिक समाज, बौद्धिक वर्ग र सरोकारवाला निकायसँग प्रेस स्वतन्त्रतामाथि छलफल
- सूचनाको हक प्रयोग गर्दै नगरभित्रका विषयमा औपचारिक सूचना माग गर्ने
- मेयर पौडेलको पार्टी नेपाली कांग्रेसका जिल्ला, प्रदेश र केन्द्रीय तहमा ध्यानाकर्षण पत्र बुझाउने
- प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न माग गर्ने
यसैबीच, पत्रकार महासंघले विज्ञप्ति जारी गर्दै ‘दानापानी माग्ने पत्रकार को हो?’ भनी नाम खुलाउन माग गरेको थियो। तर अहिलेसम्म मेयर पौडेलले नाम सार्वजनिक गरेका छैनन्।
पत्रकार संगठनहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै अभिव्यक्तिमाथि असहमति जनाएका छन् र चेतावनी दिँदै समयमै स्पष्टिकरण नआए थप चरणबद्ध आन्दोलन गरिने बताएका छन्।