महेन्द्रनगर । नवाैँ राष्ट्रिय खेलकुद प्रतियोगिताकाे छनाेटका लागि सुदुरपश्चिम प्रदेशको फुलकन्ट्याक्ट कराँते प्रतियोगितामा ७ स्वर्ण जित्दै बझाङ प्रथम भएको छ ।

मंगलबार कञ्चनपुरको महेन्द्रनगरस्थित तेक्वान्दो हलमा भएको छनोट प्रतियोगितामा कञ्चनपुरले ४ स्वर्ण र कैलालीले १ स्वर्ण पदक जित्दै क्रमशः दोस्रो र तेस्रो भएको छन् ।

गण्डकीमा हुने नवाैँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि भएको छनोट प्रतियोगितामा बझाङबाट छनोट हुने खेलाडीहरूमा महिला खुलामा मनिता बोहरा, महिला ५५ किलो तौलसमूहमा बिमला रावल, ४५ किलोमा उषा रावलले स्वर्ण जित्दा पुरुष ६५ किलो तौल समूहमा चन्द्र नेगी, ५५ किलोतौल समूहमा हेमन्त बोहरा, ५० किलोमा वीरेन्द्र बोहरा र ४० किलो तौल समूहमा विकास परियारले स्वर्ण पदक जिते ।

दोस्रो भएको कचनपुरका तर्फबाट पुरुष खुलामा सागर बिष्ट, ६० किलोमा धिरेन्द्र साउद त्यस्तै महिला ४० किलो तौल समूहमा गरिमा पार्की, ५० किलो महिला समूहमा दिपिका पार्कीले स्वर्ण जिते । कैलालीलाई एक मात्र स्वर्ण पदक ४५ किलो तौल समूहका रमेश विकले दिलाएका थिए ।

छनोट खेलमा स्वर्ण पदक विजेता खेलाडीहरूले आगामी असोज २८ देखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुने नवाैँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रतिस्पर्धा गर्ने सुदुरपश्चिम प्रदेशका फुलकन्ट्याक्ट कराँतेका संयोजक रघुवीर पार्कीले बताए ।

फुलकन्ट्याक्ट कराँतेको छनोट प्रतियोगिता विभिन्न फुलकन्ट्याक्ट कराँते संघका ९ वटै जिल्लाका एक सय भन्दा बढी महिला पुरुष खेलाडीको सहभागीता रहेको थियो ।

छनोट प्रतियोगितामा केही संघका प्रशिक्षक एवं खेलाडीहरूले बखेडा झिकेपछि दुवै दिनको खेल केही समय अवरोध हुँदा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुबेर खड्का र नेपाल बुदोकैदो फुलकन्ट्याक्ट कराँते संघका निवर्तमान अध्यक्ष काजीमान श्रेष्ठ र कार्यवाहक अध्यक्ष वीरकृष्ण महर्जनले विवाद समाधान गर्दै खेल सञ्चालन गरेका थिए ।