काठमाडौं । क्यामरुन ग्रिनले करिअरमा पहिलोपटक ओपनिङमा खेल्दै २६ बलमा अर्धशतक बनाए । म्याथ्यु वेडले उत्कृष्ट फिनिसिङ गरेपछि अष्ट्रेलियाले बुधबार राति भारतमाथि ४ विकेटको रोमाञ्चक विजय हासिल गरेको छ । 

चण्डीगढस्थित मोहालीको फ्ल्याट पिचमा २०९ रनको लक्ष्य पूरा गरेसँगै अष्ट्रेलियाले तीन खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा १–० को अग्रता लिन सफल भएको छ । 

२०८ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाका ओपनर ग्रिनले ३० बलमा ८ चौका र ४ छक्कासहित ६१ रन बनाउँदे जितको आधर तयार पारे । उनले कप्तान आरोन फिन्चसँग पहिलो विकेटका लागि ३९ तथा स्टिभ स्मिथसँग दोस्रो विकेटका लागि ७० रनको साझेदारी गरेका थिए ।

अक्सर पटेलले आफ्नो चार ओभरको स्पेलमा १७ रन दिएर तीन विकेट लिएपछि भारतको आशा जागेको थियो । पटेलले फिन्च, ग्रिन र जोश इङ्लिसलाई आउट गरेका थिए । त्यस्तै उमेश यादवले स्मिथ र ग्लेन म्याक्सवेललाई पवेलियनको बाटो देखाएका थिए । 

स्मिथले ३५, म्याक्सवेलले एक र इङ्लिसले १७ रन बनाए । त्यसपछि टिम डेबिड र वेडले अष्ट्रेलियालाई जिततर्फ डोहर्याएका थिए । यी दुईले छैटौं विकेटका लागि ६२ रनको साझेदारी गरे । डेबिडले १४ बलमा १८ रन बनाए । वेडले २१ बलमा ६ चौका र २ छक्कासहित अवजित ४५ रन बनाए । प्याट कमिन्स ४ रनमा अविजित रहे ।

भारतका पटेल र यादवबाहेक युजभेन्द्र चाहलले एक विकेट लिए । 

त्यसअघि, टस हारेर ब्याटिङका लागि निम्त्याइएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०८ रन बनाएको थियो । भारतका लागि ओपनर केएल राहुलले ३५ बलमा ४ चौका र ३ छक्कासहित ५५ रन बनाए । कप्तान रोहित शर्मा ११ र विराट कोहली २ रन बनाएर पवेलियन फर्किए । 

त्यसपछि राहुलले सूर्यकुमार यादवसँग तेस्रो विकेटका लागि ६८ रनको साझेदारी गरे । सूर्यकुमार यदवले २५ बलमा ४ चौका र ४ छक्कासहित ४६ रन बनाए । अक्सर पटेल र दिनेश कार्तिकले समान ६ रन जोडे । हार्दिक पाण्डेयले ३० लबमा ७ चौका र ५ छक्कासहित अविजित ७१ रन बनाउँदै भारतको इनिङ उकासे । हर्षल पटेल ७ रनमा अविजित रहे । 

अष्ट्रेलियाका नथान इलिसले तीन विकेट लिँदा जोश हाजलउडले २ विकेट लिए । क्यामरुन ग्रिनले एक विकेट लिए । 

दोस्रो खेल शुक्रबार नागपुरमा हुनेछ । तेस्रो खेल आइतबार हैदरावादमा हुनेछ ।