काठमाडौं । १७ वर्षपछि पाकिस्तान फर्किएको इङ्ल्यान्डका एलेक्स हल्सले ५३ रन तथा डेब्यु गरेका लुक उडले तीन विकेट लिएपछि पहुना टोलीले बुधबार राति पाकिस्तानलाई ६ विकेटले हराएको छ । 

१५९ रनको विजयी लक्ष्य पछ्याउने क्रममा हल्सले ४० बलमा ७ चौकासहित ५३ रनले बनाए । हल्सले २०१९ पछि पहिलोपटक इङ्ल्यान्डका लागि खेलेका हुन् । मैदानबाहिरको विवादका कारण हल्स विश्वकप टिममा पनि परेका थिएनन् ।

कराँचीमा ह्यारी ब्रुकले २५ बलमा सात चौकासहित अविजित ४२ रन जोडे । बेन डुकेटले २१ रन बनाए भने डेविड मालनले २० रन जोडे । पाकिस्तानका उस्मान क्वादिरले दुई विकेट लिए भने शहनावाज दहानी र ह्यारिस रउफले एक÷एक विकेट लिए । 

त्यसअघि कराँची राष्ट्रिय रंगशालामा टस हारेर ब्याटिङका लागि नम्त्यिाइएको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५८ रन बनाएको थियो । पाकिस्तानका लागि ओपनर मोहम्मद रिजवानले ४६ बलमा ४ चौका र २ छक्कासहित ६८ रन बनाए । कप्तान बाबर आजमले ३१ रन बनाए । इफतिखर अहमदले २८ र हैदर अलीले ११ रन जोड्नुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

इङ्ल्यान्डका उडले चार ओभरमा तीन विकेट लिए भने एडिल रशिदले दुई विकेट लिए । साम कुरान र मोइन अलीले एक÷एक विकेट लिए । 

इङ्ल्यान्ड ६ हजार ११८ दिनपछि पाकिस्तान फर्किएको हो । २००५ डिसेम्बरमा टेष्ट र एकदिवसीय शृंखला खेलेपछि इङ्ल्यान्डले पाकिस्तान भ्रमण गरेको थिएन । २००९ मा श्रीलंकन टिमको बसमा गोली प्रहार भएपछि कुनै पनि टिमले ६ वर्षसम्म पाकिस्तानको भ्रमण गरेका थिएनन् । २०१५ पछि विदेशी टिमहरू विस्तारै पाकिस्तान फर्किन थालेका थिए । 

इङ्ल्यान्डले गत वर्ष पनि पाकिस्तानको भ्रमण गर्ने भनेको थियो । तर, अन्तिम अवस्थामा सुरक्षाको कारण देखाउँदै भ्रमण स्थगित गरेको थियो । 

इङ्ल्यान्डले अब सात खेलको शृंखलामा दोस्रो खेल बिहीबार खेल्नेछ ।