काठमाडौं । पोल्यान्डका कप्तान रोबर्ट लेवानडोवस्कीले युक्रेनसँग प्रतिबद्धता जनाउनका लागि कतार विश्वकप फुटबलमा युक्रेनियन रङको ‘आर्मब्यान्ड’ लगाउने भएका छन् । युक्रेनका पूर्वकप्तान आन्द्रे सेभचेन्कोले लेवानडोवस्कीलाई निलो र पहेँलो रङको ‘आर्मब्यान्ड’ दिएका थिए ।

बार्सिलोनाका स्ट्राइकर लेवानडोवस्कीले युक्रेनका पूर्वकप्तान तथा प्रशिक्षक सेभचेन्कोलाई वार्स नेसनल रंगशालामा भेटेका थिए । लेवानडोवस्कीले कतार विश्वकपमा प्रतीकात्मक रूपमा उक्त आर्मब्याड लगाउनेछन् । युक्रेन विश्वकपमा छनोट हुन सफल भएन ।

गएको फेब्रुअरीमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि सैनिक आक्रमण गरेका थिए । मस्कोले त्यसलाई ‘विशेष मिलिटरी अपरेसन’ भनेको छ ।

‘‘कतार विश्वकपमा युक्रेनियन रङको आर्मब्यान्ड लगाउनेछु,’’ लेवानडोवस्कीले भने,

‘युक्रेनका जनता एक्लो छैनन् भनेर विश्वास दिलाउनका लागि नोभेम्बरमा हुने विश्वकपमा सेभचेन्कोको आर्मब्यान्ड लगाउनेछु । सेभचेन्कोसँग यहाँसँगै हुन पाउनु मेरो लागि ठूलो कुरा हो ।’

चेल्सी र एसी मिलानका पूर्वस्ट्राइकर सेभचेन्कोले युक्रेनबाट १११ खेलमा ४८ गोल गरेका थिए । उनले विदेशी क्लबमा खेल्नुअघि डाइनामो किभबाट खेलेका थिए । सेभचेन्कोले युद्धबाट ग्रसित आफ्नो देशका लागि कोष खडा गरेर रकम जम्मा गरिरहेका छन् ।

पोल्यान्ड कतार विश्वकपको समूह ‘सी’मा छ । समूह ‘सी’मा अर्जेन्टिना, साउदी अरब, मेक्सिको र पोल्यान्डले प्रतिस्पर्धा गर्नेछन् ।