काठमाडौं । युक्रेनमा आक्रमण गरेका कारण यूईएफएले रुसलाई युरोपियन च्याम्पियनसिप २०२४ को छनोटमा प्रतिबन्ध लगाउने भएको छ । यूईएफएले मंगलबार अर्को सूचना जारी नभएसम्मका लागि रुसलाई सबैखाले अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिबन्ध गर्ने जनाएको छ ।

यूईएफएले बेलारुसलाई भने युरोकप २०२४ को छनोटमा समावेश गर्ने जनाएको छ । तर, उनीहरूलाई युक्रेनको समूहमा समावेश नगर्ने जनाएको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफा र युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले गएको फेब्रुअरीमा रुसको राष्ट्रिय टिम तथा क्लबहरूलाई फिफा र यूईएफएको प्रतियोगितामा प्रतिबन्ध लगाउने घोषणा गरेका थिए ।

रुसको फुटबल संघ र चार क्लबले फिफा र यूईएफएको प्रतिबन्ध गर्ने निर्णयविरुद्ध कोर्ट अफ आर्बिट्रेसन फर स्पोट (कास)मा अपिल गरेका थिए । तर, गएको जुलाईमा कासले रुसको अपिललाई खारेज गरिदिएको थियो ।

युरो २०२४ छनोटको ‘ड्र’ आउँदो अक्टोबर ९ मा फ्रांकफर्टमा हुनेछ । युरो २०२४ जर्मनीले आयोजना गर्नेछ ।