काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा नामिबियाले लगातार पाँचौँ जित हासिल गर्नेक्रममा बुधबार पपुवा न्युगिनीमाथि ६१ रनको विजय हासिल गरेको छ । 

पीएनजीको पोर्ट मोरेसबाईस्थित एमिनी पार्कमा टस जितेर ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २१४ रन बनाएको थियो । २१५ रनको लक्ष्य पछ्याएको पीएनजीले ४३.१ ओभरमा सबै विकेट गुमाएर १५३ रन मात्र बनाउन सक्यो ।

जितसँगै नामिबियाले २२ खेलबाट २६ अंक जोडेको छ । जुन छैटौँ स्थानको नेपालभन्दा ९ अंकले माथि हो । नेपालले दुई खेल कम खेलेको छ । लिगमा ओमान ३६ खेलबाट ४४ अंकका साथ शीर्ष स्थानमा छ । २८ खेलबाट ४० अंक जोडेको स्कटल्यान्ड दोस्रो स्थानमा छ भने ३२ खेलबाट २९ अंक जोडेको अमेरिका तेस्रो स्थानमा छ । 

२६ खेलबाट २७ अंक जोडेको युनाइटेड अरब इमिरेट्स (यूएई) चौथो स्थानमा छ । पराजित पीएनजी २४ खेलबाट ५ अंक जोडेर पुछारमा छ ।

नामिबियाका लागि कप्तान गेरहार्ड इरसमसले ४९, जन निकोल लोफ्टी–इटोनले ३५, लो–हान्द्रे लोरेन्सले ३४, जेन ग्रीनले अविजित ३१, जन फ्रेलिङ्कले १४ र स्टेफन बार्डले १३ रन जोडे । 

घरेलु टोली पीएनजीका काबुवा मोरेया र चाद सोपरले समान दुई विकेट लिए । नोसैना पोकना र असाद भेलाले एक एक विकेट लिए । 

२१५ रनको लक्ष्य पछ्याएको पीएनजीका लागि लेगा सिएकाले ३८, हिरि हिरिले २९, चार्लेस एमिनीले २२ र मोरेयाले अविजित १५ रन बनाए । 

नामिबियाका इरसमसले तीन विकेट लिए भने रुबेन ट्रमपेलमन, तानगेनी लुङमेनी र फ्रेलिङ्कले समान दुई विकेट लिए । बर्नार्ड स्कोल्टजले एक विकेट लिए ।