सामाजिक कार्यमा अग्रसर रहेका धराने सचेत समुहले सुनसरी महिला बास्केटवल खेलाडिहरुलाई बास्केटबल जर्सी प्रदान गरेका छन ।

समुहले यही असोज ६ गते देखि सुरु हुन लागेका प्रदेश १ बास्केटबल खेलाडी छनौट प्रतियोगिताका लागि प्रशिक्षणमा रहेका सुनसरी महिला बास्केटबल टिमका १२ जना खेलाडीलाई जर्सी प्रदान गरेका हुन । 

उनीहरुलाई सोमबार  धरान १८ स्थित डिपो स्कुलको बास्केटबल कोर्टमा सचेत धराने समुहका अध्यक्ष निरज लिम्बू, नेपाल पत्रकार महासंघ, सुनसरीका अध्यक्ष जनकऋषि राई र डिपो क्याम्पसका प्रमुख राजकुमार राईले जर्सी हस्तान्तरण गरेका हुन ।

डा. आशा राईको कप्तानीमा असोज ६ गते सुनसरी जिल्लाका टिमले छनौट प्रतियोगितामा प्रतिश्पर्धा गर्दैछन् । अन्य टिम सदस्यहरुमा तनु राई, निरुता राई, सितल तामाङ्ग, रन्जिता लिम्बू इक्सा, सेरिना लिम्बू, संझना राई, आशा लामा, आस्था राई, नुमा लिम्बू, एल्भिना गुरुङ र तनुसा श्रेष्ठ रहेका छन । 

छनौट प्रतियोगिताबाट प्रदेश १ टिम तयार गरिने छ । सचेत धराने समुहले जर्सीसंगै प्रतियोगिता स्थल धरान रंगशाला कर्भडहलका लागि दुई थान डस्टबिन समेत प्रदान गरेको थियो ।

असोज २८ गते देखि पोखरामा सुरु हुने ९ औ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश १ को विभिन्न जिल्लामा भदौ २९ गते देखि प्रदेश १ खेलाडी छनौट प्रतियोगिता सुरु भएको छ । धरानमा मात्र ६ वटा खेलको प्रदेश १ छनौट प्रतियोगिता सम्पन्न हुन गइरहेको छ । 

धरानमा हुने छनौट प्रतियोगिता मध्ये वुद्धिचाल, साइक्लिङ, गल्फ र कराते खेलको छनौट प्रतियोगिता सम्पन्न भइसकेको छ । जुडो खेलको छनौट प्रतियोगिता सोमबारदेखि सुरु भएको छ भने बास्केटबल खेलको छनौट प्रतियोगिता भने ६ गते देखि ८ गते सम्म हुनेछ ।

छनौट प्रतियोगिताका लागि प्रदेश १ भरिबाट धरानमा करिब एक हजार खेलाडीहरुले सहभागिता जनाउने छन् । जर्सी हस्तान्तरण कार्यक्रममा सुनसरी बास्केटबल संघका कोषाध्यक्ष गौरवमान श्रेष्ठ, प्रदेश १ बास्केटबल प्रशिक्षक विकास चाम्लिङ राई, प्रशिक्षक रोशन राई, सचेत धराने समुहका प्रवक्ता राम लिम्बू, कोषाध्यक्ष हर्कराज लिम्बूलगायतको उपस्थिति थियो ।