अमेरिका (वासिङटन डीसी) । हालै गरिएको एक अध्ययनले संयुक्त राज्य अमेरिका र क्यानडाका विद्यालय पाेसाकहरूमा तथाकथित 'फोरइभर केमिकल्स'को मात्रा उच्च रहेको पाइएको छ ।

पीएफएएस अर्थात् पर–एन्ड पोलिफ्लुरोअल्काइल सब्स्टान्सेज अर्थात् फोरइभर केमिकल्स करिब १२ हजार यौगिक मिलेर बनेको हुन्छ । 

यसलाई पानी, दाग र घामबाट जोगाउन उपभोग्य उत्पादनहरूमा प्रयोग गर्ने गरिन्छ । प्राकृतिक रूपमा तिनीहरू नटुक्रिने र वातावरण तथा मानव शरीरमा जम्मा हुन जाने भएकाले नै यसलाई फोरइभर केमिकल्स भनिएको हो ।

कपडालाई पनि दाग लाग्न वा पानीबाट जोगाउनका लागि प्रयोग गरिने यो रसायनिक पदार्थले दम, मोटोपना र प्रजननसम्बनधी विषयसँग सरोकार राख्दछ ।

अनुसन्धानकर्ताहरूले शत प्रतिशत कटन भन्दा सिन्थेटिकबाट बनेका कपडामा यस रसायनिक पदार्थको परिमाण स्तर उच्च रहने गरेको पत्ता लगाएका छन् । 

वैज्ञानिकहरूले बालबालिकालाई यस्ता रसायनिक पदार्थको प्रत्यक्ष संसर्गमा राख्दा स्वास्थ्यसम्बन्धी दीर्घकालीन खतराहरू निम्तिने दाबी गरेका छन् । 

यस समस्याविरुद्धका अभियन्ताहरूले बेलायतका झण्डै सम्पूर्ण खुद्रा बिक्रेताका आफ्नै ब्रान्डका विद्यालय पाेसाक पीएफएसरहित भएकाले त्यहाँ यसको खतरा र समस्या नरहेको बताउँछन् ।

नटाँसिने र पानीले नछुने गुणका कारण पीएफएएस रसायनलाई अग्निनियन्त्रण फोमदेखि खाद्यान्न पोका पार्ने र कपडा उत्पादनमा व्यापक प्रयोग गरिने गरिएको छ । 

वैज्ञानिकहरूले लामो समयदेखि यस विषयमा चिन्ता व्यक्त गर्दै आइरहेका छन् । अमेरिका र क्यानडाका करिब बीस प्रतिशत बालबालिकाले विद्यालय पाेसाक लगाउने गरेका छन् । 

स्राेत : बीबीसी