काठमाडौं । रुसले निर्लज्ज रूपमा संयुक्त राष्ट्रसंघको मूल सिद्धान्तको उल्लङ्घन गरको अमेरिकी राष्ट्रपति जो बाइडेनले आरोप लगाएका छन् ।
संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै बाइडेनले युक्रेनमा क्रुर र अनावश्यक युद्ध गर्दै रुसले संयुक्त राष्ट्रसंघको बडापत्रको मूल मर्म उल्लङ्घन गरेको आरोप लगाएका हुन् ।
उनले रुसी आक्रमणको निन्दा गर्दै रुसले युक्रेनमा सर्वसाधारणमाथि गरेको अत्याचार डरलाग्दो भएको उल्लेख गरे ।
बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक हतियार प्रयोग गर्न सक्ने भन्दै दिएको धम्की गैरजिम्मेवारपूर्ण भएको बताएका छन् । यसले आणविक हतियारहरूको अप्रसार सम्बन्धी सन्धिको हस्ताक्षरकर्ताको रूपमा आफ्नो राष्ट्रको जिम्मेवारीहरूको लागि लापर्बाही देखाएको उनको भनाइ छ ।
“हामी रुसको आक्रामकताविरुद्ध ऐक्यबद्धतामा उभिनेछौँ,” उनले थपे ।
बाइडेनले आउँदाे हप्ता रुस नियन्त्रित क्षेत्रमा हुन लागेकाे 'नक्कली जनमतसंग्रह'काे पनि आलाेचना गरे ।