रुस (मस्को) । सरकारले युक्रेनको युद्धमा लड्न बोलाउने भयले रुसी पुरुषहरूले देश छोड्ने प्रयास गर्दा रुसको सीमा क्षेत्रमा लामो भिड देखिएको छ । 

राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार जगेडाको आंशिक सेना परिचालन गर्ने घोषणा गरेसँगै तीन लाख थप युवालाई युद्धमा सेवा गर्न बोलाइन सक्ने देखिएको थियो । तर, क्रेमलिनले युद्ध लड्न अनुकूल उमेरका पुरुषहरू भाग्दै गरेको खबर बढाइचढाइ सार्वजनिक भइरहेको बताएको छ ।

जर्जियासँग जोडिएको माइलौँ लामो सवारी साधनमा भने युद्धबाट बचेर भाग्न लागेका रुसी युवाहरू देखिन्छन् । आफ्नो परिचय खुलाउन नचाहेका एकजना रुसी युवकले बीबीसीका पत्रकार रेहान दिमित्रीलाई भनेका छन्, “राष्ट्रपति पुटिनले सेनामा थप भर्ती गर्नेबारे घोषणा गर्नासाथ उनको भनाइअनुसारको उमेर समूहमा आफू पनि पर्ने भएपछि कुनै सामान नै नबोकी पासपोर्ट मात्र लिएर म यहाँ सीमा क्षेत्रमा आइपुगेको हुँ ।”

केही प्रत्यक्षदर्शीहरूका अनुसार अपर लार्स चेकप्वाइन्टमासवारी साधनको करिब पाँच किलोमिटर लामो लाइन लागेको छ ।

त्यसैगरी अर्को समूहले सीमा पार गर्न सात घन्टा लागेको बताएको छ । अनलाइनमा सार्वजनिक भएको भिडियोमा केही ड्राइभरहरूले ठप्प रहेको ट्राफिकमा आफ्ना कार र ट्रक केही समयका लागि त्यसै छाडेर हिँडेको देखिन्छ । 

बीबीसीबाट ।