अमेरिका (लसएन्जलस) । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आणविक हतियार प्रयोग गर्न इच्छुक रहेको संकेत गरेपछि अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिक्रिया दिँदै यस्तो द्वन्द्व कहिल्यै हुन नुहुने र यसले विश्वयुद्ध निम्त्याउन सक्ने बताएका छन् ।

आफ्नै सोसल मिडिया प्लेटफर्म ट्रुथ सोसलमा ट्रम्पले भनेका छन्, “यदि म अझै ओभल अफिसमा भएको भए द्वन्द्व निम्तिने नै थिएन । तर, मैले लामो समयदेखि स्पष्ट रूपमा भन्दै आएको हुँ कि अब यो युद्ध तेस्रो विश्वयुद्धमै गएर टुंगिन सक्छ ।”

यता पुटिनले बुधबार अहिले आफ्ना फौज संघर्षरत युक्रेनमा तीन लाख जगेडा फौज पठाउने घोषणा गरेका छनै । 

उनले पश्चिम जगत्ले आणविक ब्ल्याकमेल गरिरहेको भन्दै रुसले आणविक हतियार प्रयोग गर्ने चेतावनी दिएका थिए । युक्रेनमाथि पूर्ण आक्रमणको सुरु भएयता पुटिनले पटकपटक आणविक हतियार प्रयोग गर्नेबारे चेतावनी दिइसकेका छन् ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसको सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले अमेरिकाले पुटिनको चेतावनीलाई गम्भीर रूपमा लिइरहेको एबीसीको ‘गुड मर्निङ अमेरिका’ कार्यक्रममा बताएका छन् । 

यसै महिना प्रत्याक्रमणका क्रममा युक्रेनी फौजले रुसी फौजको नियन्त्रणमा रहेको हजारौँ वर्ग किलोमिटर भूभाग फिर्ता लिइसकेको छ । 

स्रोत : दि हिल