अमेरिका । अमेरिकामा पाँचवटा सेमि–ट्रेलरबाट बियरका हजारौँ क्यानहरू पोखिएपछि फ्लोरिडाको एउटा राजमार्ग बुधबार ठप्प भएको छ । 

सडकका छेउमा रोकेर राखिएका ट्रकहरूसँग ठोक्किएर त्यसरी बियरका क्याहरू सडकमा झरेपछि राजमार्गका सम्पूर्ण लेन बन्द भएका थिए ।

फ्लोरिडा हाइवे पेट्रोलले सार्वजनिक गरेका तस्बिरहरूमा सबै क्षेत्रमा झरेका बियर बाकस र छरिएका क्यानले सडक नै पूरा छोपिएको देखिन्छ । अन्ततः घटनाको केही घन्टापछि बल्ल सडक खुलाइएको थियो । यस घटनामा केही व्यक्तिलाई सामान्य चोटपटक लागेको बताइएको छ । 

टाम्पा बे टाइम्सका अनुसार बुधबार बिहान व्यस्त राजमार्गमा दुईवटा सेमि–ट्रेलर दुर्घटना परेपछि त्यसमा अन्य सेमि–ट्रेलरहरू पनि दुर्घटनामा मुछिएका हुन् । साथै कंक्रिट बोकेको लरी पनि दुर्घटनामा पर्दा सडकमा कंक्रिट पनि पोखिएको थियो ।