धरान । इलामको पर्यटन सुचना केन्द्रलाई व्यवस्थापन नगर्दा सुरक्षामा चुनौति देखिएको छ ।

तीन जिल्लाको प्रवेशद्वार रहेको जोर कलस स्थित सूचना केन्द्रलाई व्यवस्थित नबनाए पर्यटन विकासमा चुनौति देखिने भएको हो । इलाम, पाँचथर र ताप्लेजुङसम्म जोड्ने प्रवेशद्वारलाई व्यवस्थापन गर्न नसक्दा पर्यटकको तथ्याङ्क राख्न चुनौति देखिएको सरोकारवाला बताउँछन । सूचना केन्द्रले अहिले ठूला सवारीमा आएका पर्यटकको मात्र तथ्याङ्क राख्न सकेको भन्दै सबैखाले सवारी साधनको तथ्याङ्क नराखे कुनै दिन समस्या आउन सक्ने रोङ गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्वोले बताए ।

तीन जिल्लाकै यात्रुको सुरक्षाका लागि जक्सनमा रहेको केन्द्रलाई मर्मत र व्यवस्थित बनाउँन सके सबै किसिमका तथ्याङ्क राख्न सकिने भन्दै उनले एउटा पालिकाले मात्र यसलाई व्यवस्थापन गर्न सम्भव नहुने बताए । उनले सबै मिलेर व्यवस्थापन गर्ने हो भने तीन जिल्लाभित्र हुने विभिन्न किसिमका घटनालाई छिटो पत्ता लगाउन सकिने बताए । ‘यसलाई व्यवस्थापन गर्नुपर्छ भनेर पटक पटक कुरा अघि बढाईरहेको छु तर रोङ गाउँपालिकामा रहेको भनेर कसैले चासो दिएका छैनन तर भोलिका दिन कुनै घटना घट्यो भने त्यतिबेला मात्र थाहा हुन्छ यसलाई व्यवस्थित गर्नुपर्छ ।’ यसलाई व्यवस्थित गर्ने हो भने जोरकलसबाट इन्ट्रिगरेर मात्र प्रवेश गर्न दिए हिडेको समय सम्म पत्ता लगाउन सकिने बताए । पर्यटकीय जिल्ला भनेर चिनिएको यस ठाएँमा आन्तरिक तथा बाह्य पर्यटकहरूको सुरक्षाको लागि भए पनि सूचना केन्द्र आवश्य रहेको उनले बताए ।

केचना कञ्चनजंघा पर्यटन प्रवर्दन समितिका कार्यकारी निर्देशक केशव धौरालीले पर्यटन सूचना केन्द्रलाई यहाँबाट प्रवेश गरेका पर्यटकको तथ्याङ राख्ने मात्र नभएर इलाम, पाँचथर र ताप्लेजुङ सम्मका पर्यटकीय क्षेत्रको सूचना दिएर पठाउने गरी व्यवस्थित बनाउनुपर्ने बताए । इलाममा आएका पर्यटक कन्याम र अन्त्ुमै मात्र भुलिने भन्दै सूचना केन्द्रलाई व्यवस्थित बनाएर पर्यटकीय क्षेत्रको जानकारी दिएर पर्यटकका लागि ‘इन्फरमेसन’ सेन्टर बनाउन सबै लाग्नु पर्ने बताए ।

शौचालय सरसफाईमा समस्या

इलामको प्रवेशद्वार जोरकलसमा रहेको सार्वजनिक शौचालय सरसफाई हुदैन । जसले गर्दा यहाँ आउने आन्तरिक तथा वाह्य पर्यटकले शौचालय प्रयोग गर्न समस्या भएको छ । सरसफाई गर्ने कर्मचारी राखेपनि समय समयमा सरसफाई नगरेका कारण दुर्गनिधत हुने गरेको स्थानीयहरु बताउँछन् । कर्मचारीले शोच गरेवापतको रकम असुल गरेपनि सरसफाई भने नगरेकोप्रति स्थानीयहरु अचम्मित छन् ।

इलाम,पाँचथर र ताप्लेजुङसम्मका सवारी साधनका यात्रुहरुले खाजा खाने र विश्राम गर्ने समयमा पनि यो शौचालय प्रयोग गर्ने गर्छन् । दुर्गन्धित भएपनि शौचालय प्रयोग गर्नुपर्ने बाध्यता रहेकाले नाक थुनेर भएपनि प्रयोग गर्ने गरेको यात्रुवाहक बसमा सवार सर्वसाधारण बताउँछन् । शौचालय व्यवस्थापनका लागि रोङ गाउँपालिकाले पटक पटक पहल गरे पनि समस्या आइरहेको पालिकाका अध्यक्ष मनिकुमार स्याङ्वो बताउँछन । उनी भन्छन, ‘ सफा गर्ने ठेक्का लिएको कर्मचारी जतिखेर पनि मादक पदार्थ सेवन गरेर बसेको हुन्छ, उसलाई सफा गर्ने निर्देशन दिँदा पनि सफा नगर्दा समस्या आएको छ, यसको चाडै व्यवस्थापन गर्ने तयारीमा हामी छौ ।’

                                                                                                                               भगिरथ भण्डारी