धरान । माइृजोगमाई गाउँपालिकामा रहेका पर्यटकीय क्षेत्रको प्रचार हुन नसक्दा यहाँका पर्यटकीय क्षेत्र ओझेलमा रहेका छन । गाउँपालिकाभित्र विभिन्न पर्यटकीय क्षेत्र भएपनि प्रचार हुन नसक्दा पर्यटक भित्र्याउन नसकिएको हो । गाउँपालिकामा पोखरी, मठ मन्दिर, झरना र एसियामै पहिलो पटक बनेको गुम्बादेखि लिएर सूर्योदय र सूर्यअस्त देखिने थुम्के जस्ता ठाउँ भए पनि प्रचार हुन नसक्दा पर्यटकलाई आकर्षित गर्न नसकेको हो । प्रकृतिक रुपमा धनी भएर पनि गाउँपालिकामा भएका क्षेत्रलाई विकास गरेर लाभ लिन नसकिएको माईजोगमाई गाउँपालिकाका अध्यक्ष कुश बहादुर थेवेले जानकारी दिए । इलाम पर्यटकीय क्षेत्रको रुपमा चर्चित रहे यहाका पर्यटन प्रवद्र्धनका लागि सोचेजस्तो काम गर्न नसकेको बताए । उनले यहाँका पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि आगामी दिनमा अन्तर पालिकासँग समन्वय गरेर अघि बढ्नुपर्ने बताए । पालिकामा सुन्दर ठाउँहरुमात्र नभएर कला संस्कृति र कृषि उत्पादनलाई पर्यटन व्यवसाय मार्फत बेचेर जीवनस्तार उकास्न लाग्नुपर्ने थेवेको भनाई छ ।

गाउँपालिकाकी उपाध्यक्ष प्रविना राईले पालिकाभित्र रहेका पर्यटकीय क्षेत्रको प्रवर्दन गर्न गाउपालिका लागिरहेको भन्दै पर्यटन विकासका लागि विभिन्न संघ संस्थासँग समन्वय गरेर अगाडि बढ्ने बताइन् । उनले भनिन् ‘पर्यटनक्षेत्रको विकास गर्न प्रचार प्रचार पहिलो आवश्यकता हो, अब यसमा व्यवहारिक रुपमा उतार्नुपर्छ ।’ माईजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भागवत प्रसाद रेग्मीले पर्यटनको प्रचुर सम्भावना रहेको यस गाउँपालिकालाई पर्यटन मैत्री बनाएर विकास गर्नुपर्ने बताए । उनले भने ‘विश्वमा १३ प्रकारका हावापानी पाईन्छन जसमा नेपालमा १२ प्रकारका पाइन्छन जुन सबै माईजोगमाई गाउँपालिकामा पाउन सकिने भौगोलिक बनोट रहेको छ । पालिकाभित्र मरुभूमि जस्तै गर्मी हुँने ठाउँदेखी वर्षमा तीन महिना सम्म हिउँपर्ने ठाउँ पनि छ एकै ठाउमा सवैखालका हावापानीमा रमाउन सकिन्छ ।’

पर्यटन प्रवर्दनका लागि गाउँपालिकाले पाँचवर्षसम्म पर्यटन प्रवद्र्धनको नारा लगाए पनि परिवर्तन हुन नसकेको भन्दै फिक्कल नयाँबजार सडक निर्माण अझै हुन नसकेको वडा नं १ का वडाध्यक्ष याम बहादुर कार्कीले बताए । उनले यस क्षेत्रले प्रदेशमा जिताएका सभासद पर्यटन मन्त्री हुँदा पनि पर्यटनको विकासमा पछि परेको भन्दै पहिलाको तुलनामा पर्यटकीय क्षेत्रबमा पर्यटक नै नआउने गरेको बताए ।

वडा नं. ४ का वडाध्यक्ष डुरन देवानले धार्मिक पर्यटक आउने माईवेनीको विकास गर्दे पदमार्ग निर्माणसँगै होमस्टेको विकास गर्नुपर्ने बताए भने वडा सदस्य भक्त चेम्जुङले द्वन्दकालको समयमा बन्द भएका गाउँबजारका मेलाबजार लगाउँन सुरु गर्नुपर्ने बताए । कार्यक्रममा गाउँपालिकाका सम्पूर्ण वडाध्यक्ष तथा वडासदस्यहरुले पर्यटन प्रवद्र्धनमा आ आफ्नो धारणा राखेका थिए ।

शुक्रबार माईजोगमाई गाउँपालिकामा भएको अन्तरपालिका समन्वय बैठकमा नगर पर्यटन प्रवर्दन समितिका सदस्य दिव्या भट्टराई, पविमायाँ गुरुङ र विमला पोखरेलको उपस्थिति रहेको थियो भने छलफल कार्यक्रममा समितिकी सदस्य रिना घिमिरेले गरेकी थिइन ।